‘नियमित जाँच गरे मुखसम्बन्धी रोगले जटिलता निम्त्याउँदैन’

विश्वमा क्यान्सरको सूचीमा मुखको क्यान्सर १३औँ नम्बरमा पर्छ, यसमा ओठको क्यान्सर बढी हुने गरेको छ। बढ्दो सहरीकरण र जीवनयापनमा आएको परिवर्तनसँगै मुखका रोग पनि बढिरहेका छन्। 

तस्वीर: डेन्टलिन डटकम

काठमाडौँ– ‘मुख स्वस्थ भए शरीर पनि चंगा हुन्छ।’ यो यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा हो। स्वस्थ मुख उचित पाचनका लागी आवश्यक छ, सर्वोत्कृष्ट पोषणका लागी यसले खानालाई मिहिन बनाउन मात्र सघाउँदै अपितु स्वस्थ मुस्कान र आत्मसम्मान जोगाउन मद्दत गर्छ। यो नाराले प्रवाह गर्ने सन्देश यही हो भन्छन् दन्तचिकित्सक। मुख स्वस्थ भयो भने शरीर नै निरोगी रहन्छ। मुख अस्वस्थ नहुँदा नै हामी बोल्न, चपाउन र मुस्कुराउन सक्छौँ।

बुधबार, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ। दाँत, गिजा र सम्पूर्ण मुख–अनुहार प्रणालीको स्वास्थ्यलाई मुख स्वास्थ्यको रूपमा बुझ्न सकिन्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मिँदै तालु तथा ओठ चिरेको (खुँडे), गिजासम्बन्धी रोग, दाँत कीराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा मुखसम्बन्धी अन्य रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ। 

नेपालमा अधिकांशमा दाँत कीराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या भएका बिरामी पाइन्छन्। स्वास्थ्यसम्बन्धी वेबसाइट मायो क्लिनिक डटकमका अनुसार शरीरका अन्य भागजस्तै मुख पनि कीटाणुले भरिएको हुन्छ। तथापि ती कीटाणु प्रायः हानिकारक हुन्छन्। तर मुख भनेको पाचन नलीमा प्रवेश गर्ने माध्यम भएकाले यदि त्यो स्वास्थ्य भएन भने हानिकारक कीटाणुले शरीरभर रोग निम्त्याउन सक्छ। 

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका वरिष्ठ दन्तचिकित्सक डा. बुद्धिमान श्रेष्ठले बालबालिकामा बढीजसो दाँत कीराले खाने र वयस्कमा गिजाको बढी समस्या हुने गरेको बताए। उनका अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्ने अधिकांशलाई मुखभित्र सेतो घाउ बढी मात्रामा देखिने गरेको छ, जुन मुख क्यान्सरको प्रारम्भिक लक्षण पनि हो। मुख नै शरीरको प्रवेशद्वार भएकाले यो नै स्वास्थ्य भएन भने घर (शरीर) नै स्वास्थ्य नहुने उनी बताउँछन्। “मुख स्वास्थ्य सम्पूर्ण शरीरको स्वास्थ्यसँग जोडिन्छ। गर्भवतीको मुख स्वास्थ्य नहुँदा समय नपुगी बच्चा जन्मिन सक्ने र बच्चा कम तौलको जन्मिने हुन सक्छन्। साथै मुख र गिजा सफा भएन भने यसले मधुमेह, मुटुरोग र क्यान्सरसम्मको जोखिम निम्त्याउन सक्छ,” उनले भने। 

डब्ल्यूएचओका अनुसार चिनीको खपत, सुर्ती, मदिरा सेवन र सरसफाइको कमी मुखसम्बन्धी  समस्याका मुख्य कारक हुन्। मुखसम्बन्धी समस्या विश्वव्यापी रूपमा नसर्ने रोग बन्दै गएको छ। मुख स्वास्थ्यमा खासगरी दाँत कीराले खाने, गिजासम्बन्धी रोग र मुखको क्यान्सर जनस्वास्थ्यका प्रमुख समस्या हुन्। विश्वमा क्यान्सरको सूचीमा मुखको क्यान्सर १३औँ नम्बरमा पर्छ, यसमा ओठको क्यान्सर बढी हुने गरेको छ। बढ्दो सहरीकरण र जीवनयापनमा आएको परिवर्तनसँगै मुखका रोग पनि बढिरहेका छन्।  यो मुख्यतया ‘टुथपेस्ट’को गुणस्तर, उच्च चिनीयुक्त खानाको सेवन, मुखको उपचारमा कमजोर पहुँचका कारण बढ्दो छ। 

 नेपाल डेन्टल एसोसिएसनका महासचिव डा. विश्वप्रकाश ठाकुरले धेरै बिरामी दाँतको दुखाइ र जटिल समस्या आएपछि मात्र चिकित्सककहाँ आउने प्रवृत्ति रहेको अनुभव सुनाउँछन्। शरीरका अन्य अंगको स्याहार गरेजस्तै दाँतको पनि त्यसरी नै  स्याहार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनी भन्छन्, “मुख नै स्वस्थ भएन भने अरू रोग लाग्ने सम्भावना हुन्छ। दाँतको कुनै पनि समस्या आज वा भोलि नै हुँदैन, नियमित जाँच गर्दा जटिल समस्या हुन पाउँदैन।”

अहिले ३० देखि ३५ वर्षको उमेरमा नै दाँत झरेर नक्कली दाँत राख्नुपर्ने अवस्था आउने गरेको छ। धेरै जनाले ‘ब्रस’ राम्ररी नगर्नाले समस्या बढी भएको उनले सुनाए। मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्न र यसका लागि पर्याप्त बजेट छुट्याउन आवश्यक भएको उनले औँल्याए। 

डब्लूएचओको पछिल्लो अध्ययन ग्लोबल ओरल हेल्थ स्टेटस रिपोर्ट (२०२२) अनुसार मुखसम्बन्धी रोगले विश्वभर तीन अर्ब ५० करोड मानिस पीडित हुने गरेका तथा तिनमा हरेक चार जनामध्ये तीन जना मध्यम आय भएका देशका नागरिक छन्। त्यसैगरी विश्वव्यापी अनुमानित दुई अर्ब मानिस स्थायी रूपमा नै दाँत कीराले खाने समस्याबाट पीडित छन् भने ५१ करोड ४० लाख बालबालिकामा दाँतको कीराले खाने समस्या छ। त्यसैगरी एक अर्बलाई गिजाको जटिल समस्या देखिने गरेको छ। डब्ल्यूएओकै अध्ययनले ६० देखि ९० प्रतिशत स्कुले बालबालिकामा दाँत कीराले खाने समस्या रहेको र त्यो ज्येष्ठ नागरिकमा झन् बढी रहेको बताउँछ।

डब्ल्यूएओको ओरल हेल्थ कन्ट्री (नेपाल) प्रोफाइल २०२२ का अनुसार उपचार नगरिएको कीराले खाएको दुधे दाँतको समस्या एकदेखि नौ वर्षमा ५१.२ प्रतिशत, पाँच वर्षमाथिका स्थायी दाँतको समस्या ३१.५ प्रतिशत र गिजाको समस्या १५ वर्षमाथि १४.८ प्रतिशत र २० वर्षमाथिलाई दाँत नहुने समस्या १.४ प्रतिशत छ। संख्या अझै पनि हुनसक्ने भए पनि नियमित अध्ययन–अनुसन्धान नभएकाले कति प्रतिशत समस्याबाट पीडित छन् भनेर आकलन गर्न सकिएको छैन।  

त्यसैगरी नेपाल नेसनल ओरल हेल्थ पाथफाइन्डर सर्भे २००४ मुख स्वास्थ्यसम्बन्धी अध्ययनमा नेपालमा पाँच–छ वर्षका ५७.५प्रतिशत, १२–१३ वर्षका २५.६ प्रतिशत, १५–१६ वर्षका बच्चामा २६.३, ३५–४४ वर्षका ५७.५ प्रतिशत तथा ५० वर्षभन्दा माथिका ६९.६ प्रतिशत व्यक्तिमा दाँतमा कीरा लाग्ने समस्या देखिएको थियो। अध्ययनले महिलामा दाँतमा कीरा लाग्ने समस्या बढी देखाएको थियो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी सामुदायिक दन्त चिकित्सक डा सिर्जना दाहाल दुखाइ नभएसम्म अस्पताल नआउने भएकाले जनतामा चेतना जागृत गर्न आवश्यक भएको बताउनुहुन्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने मुखसम्बन्धी सेवा सबैको पहुँचमा पुग्न सकेको छैन। जति छ, त्यो पनि सर्वसुलभ छैन। सरकारीबाहेक निजी अस्पताल तथा क्लिनिकमा मुख स्वास्थ्यको उपचार महँगो छ। डब्ल्यूएओले पनि कम र मध्यम आय भएका देशमा मुखसम्बन्धी उपचारको पर्याप्त सेवा उपलब्ध नभएको बताउँदै आएको छ।

स्टेप्स सर्भे नेपाल २०१९ को अध्ययनले १५ देखि ६९ उमेर समूहका ८९.९ प्रतिशतले दैनिक एक वा दुई पटक दाँत माझ्ने गरेको जनाएको छ। नियमित दाँत माझ्ने संख्या धेरै भए पनि नियमित आफैँ स्वास्थ्य संस्थासम्म जाने प्रतिशत भने कम छ। सर्भेले ५४.५ प्रतिशत वयस्कमा मुखसम्बन्धी जाँचका लागि जानुपर्छ भन्ने धारणा छैन। 

वीर अस्पताल दन्त विभागका गिजारोग विशेषज्ञ सहप्राध्यापक डा. रञ्जिता श्रेष्ठ नियमित जाँचले पछि हुने दाँतको दुखाइलगायत गिजाको समस्याबाट राहत मिल्ने बताउँछिन्। “रोग नै लाग्न दिएनौँ भने खर्च हुँदैन। दाँतको उपचार चरणबद्ध हुन्छ त्यसैले बढी खर्च लाग्ने हुन्छ। पहिलाभन्दा आम मानिस अलि सजग भए पनि सबै सचेत  छैनन्,” उनले भने।

वीर अस्पतालमा दाँतको उपचार सेवा लिन ३० को टिकट काटे पुग्छ। अरू सेवा पनि निजीभन्दा आधा सस्तो रहेको डा. श्रेष्ठले बताइन्। सरकारी अस्पतालमा निजीभन्दा सस्तो सेवा उपलब्ध छ। सरकारले आँखा, मुटुको जस्तै मुख स्वास्थ्यसम्बन्धी  छुट्टै अस्पताल बनाए धेरै बिरामीलाई राहत मिल्ने उनको भनाइ छ। 

“अहिले ब्रस नगर्ने मान्छे सायदै कोही होला। बच्चाको दाँत नै नआए पनि गिजा सफा कपडाले पुछिदिनुपर्छ। साढे दुई वर्षसम्म दुधेदाँत आइसक्छ। नरम ब्रसले दाँत सफा गरिदिनुपर्छ। धेरै अभिभावकले दुधेदाँत झरेर अर्को आउँछ भनेर ध्यान दिनुहुँदैन तर त्यो कीराले खायो भने पछि आउने दाँत नराम्रो आउने सम्भावना हुन्छ,” उनले भनिन्।

विज्ञहरूले मुख स्वास्थ्यलाई राम्रो बनाउन छ–छ महिनामा दाँत जाँच गराउन, दैनिक बिहान र बेलुका दिनमा दुई पटक ब्रस गर्न, खाना खाइसकेपछि कुल्ला गर्ने बानी बसाल्न, ‘कोल्डड्रिङ्क्स’को सेवन कम गर्न तथा चुरोट, गुट्खा, सुपारीलगायत सुर्तीजन्य पदार्थ सेवन नगर्न सुझाव दिएका छन्।