चट्याङ लागेर पाँचथरमा प्रहरी सहायक हबलदारको मृत्यु

प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हबलदार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको छ। 

पाँचथर– चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हबलदारको मृत्यु भएको छ।

प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हबलदार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको हो। 

मंगलबार राति प्रहरी चौकीको ढोकामा उभिएको समय माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए। चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए। 

“प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ। चिकित्सकले माझीलाई मृत घोषित गरेका थिए,” प्रनि कुशवाहाले भने। उनका अनुसार प्रहरी सहायक हबलदार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो। 

मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत थिए। मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।