नेपालीलाई रुसले बोलाएर सेनामा भर्ती गरेको होइन: राजदूत

स्वेच्छाले रुसी सेनामा भर्ती भएकाले धेरै नेपाली स्वदेश फर्किने मनस्थितिमा नरहेको भन्दै राजदूत नोभिकोभले सञ्चार माध्यममा आएका समाचारका आधारमा मात्रै धारणा नबनाउनसमेत आग्रह गरेका छन्। 

काठमाण्डौँ– नेपालका लागि रुसी राजदूत अलेक्सेई ए नोभिकोभले नेपालीलाई रुसले बोलाएर सेनामा भर्ती नगरेको बताएका छन्। अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बधाइ दिन बुधबार मन्त्रालय पुगेका राजदूत नोभिकोभले रुसी सेनामा रहेका नेपाली युवालाई उद्धार गर्ने प्रसंगमा यस्तो बताएका हुन्।

मन्त्री पुन र राजदूत नोभिकोभबीच अर्थतन्त्र र रुसले नेपालमा जलविद्युत् र मल कारखानामा लगानी गर्ने विषयमा छलफल भएको थियो। त्यहीबीच पुनले द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए। पुनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभसँग आग्रह गर्दा उनले नेपालीलाई रुसले बोलाएर सेनामा भर्ती नगरेको बताएका हुन्। साथै उनले स्वेच्छाले रुसी सेनामा भर्ती भएकाले धेरै नेपाली स्वदेश फर्किने मनस्थितिमा नरहेको पनि उल्लेख गरे।

"नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ती भएका होइनन्। स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौँ," राजदून नोभिकोभले भने। साथै उनले सञ्चार माध्यममा आएका समाचारलाई मात्र आधार बनाएर धारणा नबनाउनसमेत आग्रह गरे। 

यस्तै, मन्त्री पुनले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराएका थिए। जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट गरे। भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रूपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले उल्लेख गरे। यद्यपि रुसी सेनामा कार्यरत नेपाली मारिएकामा आफूहरू दुःखी भएको उनले बताए। राहत र क्षतिपूर्तिको बारे खासै कुरा गरेनन्।

उनले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी मन्त्री पुनलाई दिए। "हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरूसँग साटेर भए पनि नेपालीहरूलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ," राजदूत नोभिकोभले भने। यस्तै, उनले अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने सुझावसमेत दिए।