सामान्य अंकले घट्यो शेयर बजार, ३ अर्ब ४९ करोडको कारोबार

शेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट देखिएको छ। बुधबार नेप्से ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट देखिएको छ। बुधबार नेप्से ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा कायम भएको हो।

विभिन्न ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

आज लघुवित्त समूह २.५१, म्युचुअल फन्ड ०.७५ र व्यापार समूह ०.०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.४५ र अन्य समूह ०.६८ प्रतिशतले घटेको छ।

गुर्खाज फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने  सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्य ९.३२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य ८.०८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १९ करोड ५२ लाख ९७ हजार १५१ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको सात लाख ५२ हजार ३२१ कित्ता शेयर किनबेच भएको छ।