प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग आईसीसीका अध्यक्षको भेट

चार दिने नेपाल भ्रमणमा रहेका आईसीसीका अध्यक्ष ग्रेग बार्कलीले प्रधानमन्त्री दाहाल र खेलकुदमन्त्री श्रेष्ठसँग बुधबार छुट्टाछुट्टै भेट गरेका छन्।

काठमाडौँ– चार दिने नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठसँग बुधबार छुट्टाछुट्टै भेट गरेका छन्।

प्रधानमन्त्री दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए।

“नेपाल सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सन् २०२७ को ‘यू–१९ वुमन वर्ल्ड कप’का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ। आईसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ।”

अध्यक्ष बार्कलीले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने बताएका थिए। भेटमा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल र नेपाल क्रिकेट संघका पदाधिकारीको समेत सहभागिता थियो। 

यस्तै, युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठसँग पनि सिंहदरबारस्थित मन्त्रालयमा भेटघाट गरेका छन्। भेटघाटमा उनीहरूबीच नेपाली क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो। नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्त्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष बार्कलीले बताएका थिए।

मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तीकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए।