नवलपरासीमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, २ घाइते

मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको मोटरसाइकल बुधबार राति दुर्घटना भएको छ।

मध्यविन्दु– नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। 

मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको मोटरसाइकल बुधबार राति दुर्घटना भएको हो। 

नवलपरासीका डीएसपी वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा घाइते मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो।

त्यसैगरी, गम्भीर घाइते भएका मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मध्यविन्दु नगरपालिका–११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए।