इलामको सूर्योदयमा प्रांगारिक चियाखेती अभियान

“यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन। यदि चिया प्रांगारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ। यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ।”

इलाम– सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्रांगारिक खेती गरेको ६ वर्ष भयो। १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो  उत्पादन हुन्छ। “प्रतिकिलो १०१ रुपैयाँका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ। उसले एक रुपैयाँ नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,” राईले भने, “नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० हो तर हाम्रो चिया प्रांगारिक भएकाले बढी मूल्य पाएका छौँ।” 

उनीजस्तै साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन्। “चियामा लहलह मुना पलाउँछ। खाँदा स्वास्थ्यलाई हानि गर्दैन। बिक्री मूल्य पनि राम्रो पाइन्छ,” किसान मनबहादुर राईले भने, “गाईको मल एकपटक र गहुँतबाट बनाएको ‘रक्षिन’ वर्षमा दुईपटक लगाई दिनुपर्छ। अन्य गोडमेल र सिँचाइ पुग्यो भने विषादी हालेकोभन्दा राम्रो उत्पादन हुन्छ।”

यो टोलका विनोद मोक्तान, विमल, सुशीला, रामप्रसाद, आरवलक्षि, पूर्ण र तारा राईको परिवार बिहान साँझ चियाको गोडमेल, मलजल, सिँचाइ र टिपाइमा व्यस्त हुन्छन्। बेलामा पानी नपरेकाले केही ढिलो भए पनि यस वर्षको टिपाइ शुरू हुन लागेको मनबहादुरले बताए। उनका अनुसार चैत दोस्रो साताबाट चियाको पहिलो टिपाइ शुरू हुन्छ। हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्म हो।

उत्पादन गुणस्तरीय नहुँदा विश्व बजारमा निर्यात नहुने भएपछि नगरपालिकाले प्रांगारिक चिया उत्पादनको अभियान चलाइरहेको छ। ६ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयमा चियाको टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या छ। 

“पहिले भारतले यहाँको चिया किन्दा सीएफएल परीक्षण गर्थ्यो तर अब त्यसको अलावा फसाइ परीक्षण गरेर मात्र चिया लिने भएको छ,” नगरप्रमुख रणबहादुर राईले भने, “यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन। यदि चिया प्रांगारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ। यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ।”

चियाको टिपाइ सुधार गर्न ३०० किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गरिरहेको नगरप्रमुख राईले बताए। नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्रांगारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ रहेको छ। २०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका २५२ टोलमा सचेतना कार्यक्रम गरिएको थियो। नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्य भन्छन्, “गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्रांगारिक उन्मुख अभियान चलाइरहेका छौँ।”

नगरपालिकाले तोकेको न्यूनतमब समर्थन मूल्यमा भने किसानलाई अन्योलता अझै छ। “कार्यविधिमा न्यूनतम समर्थन मूल्य ४० तोकेका छौँ। त्यो भनेको ४० प्रतिशत मुना भएको चियाको मूल्य ४० हो भनिएको हो,” नगरप्रमुख राईले भने, “यसमा चियाको मुना कति प्रतिशत छ भनेर मापन गर्ने कुरामा किसानमा द्विविधा देखियो। यसको मापन यहीँ फिक्कलमा रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गर्छ। यो बोर्डको दायित्व हो।” 

सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न सकेको छैन। अर्कातिर किसानलाई प्रांगारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन। “८० प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो एक रुपैयाँ अनुदान दिँदा पनि करोडौँ लगानी चाहिन्छ। स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन,” राईले भने, “प्रदेश र संघले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ।” 

नेपाली चियाको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’ प्रवर्द्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन्। उद्योगी उदय चापागाईंले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कन्जुस्याइँ गर्ने गरेको बताए। “चिया क्षेत्रको समस्यामा दिगो समाधान खोज्न किसानलाई सहुलियत दिनुपर्छ,” उनले भने, “किसानलाई मल, सिँचाइ र अनुदानमा सरकारले सहयोग गर्नसक्छ। चियाको अन्तर्राष्ट्रिय बजार दिगो बनाउन अर्ग्यानिक उत्पादन मात्रै विकल्प हो।” नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अर्ग्यानिक रहेको तथ्यांक छ।

सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। तीमध्ये सूर्योदय टी एसोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन्। यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ। यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ। यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ।

नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ। सूर्योदय नगरपालिका चियाको राजधानीका रूपमा पनि परिचित छ। देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुने गरेको बगान सञ्चालकले बताएका छन्।