५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

दादुरा–रुवेला संक्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो। 

काठमाडौँ– सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार ९१२ जना बालबालिकाले खोप लगाएका छन्।

दादुरा–रुवेला संक्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो। 

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार ९९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार ९१२ जनाले बालबालिका खोप लगाएका हुन्। “हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्,” उनले भने, “ जिल्लाबाट प्राप्त प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशतले खोप लगाएका पाइएको छ।”

सरकारले यस वर्ष ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको  थियो। पश्चिम रुकुम र जाजरकोटमा यसअघि नै अभियान सञ्चालन भएको थियो। 

भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो। 

खोप अभियानमा देशभर ४८ हजार ७९८ खोप केन्द्रमा ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयंसेवक परिचालन गरिएको थियो।