परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत होली मनाउने चलन छ।
दोधारा चाँदनी– राना थारू समुदायले पृथक् तरिकाले होली मनाउने गरेका छन्। ३८ दिनसम्म मनाइने राना थारू समुदायको होली माघ पूर्णिमादेखि शुरू हुन्छ। यो समुदायमा दुई चरणमा होलीपर्व मनाइने गरिन्छ। पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ।
त्यसपछिका आठ दिनको समय मृत होली मनाउने प्रचलन रहेको राना समुदायका अगुवा बताउँछन्। “मृत होली अन्य समुदायको होली सकिएपछि शुरू हुन्छ,” भीमदत्त नगरपालिका–१९ का साहेब रानाले भने, “माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म जिउँदो होली मनाउँछौँ।” फागु पूर्णिमापछि राना थारू समुदायमा बल्ल रौनक छाउने उनले बताए।
“गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन्,” रानाले भने, “होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने चलन छ।” पहिलो दिन होलीको प्रतीक स्थापना गर्ने दिन हो। “माघ महिनाको पूर्णिमाको दिन दाजुभाइ गुइँठा, काठदाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन्,” भीमदत्त–१९ का मालती रानाले भने, “गाउँको चाकर अर्थात् चौकीदारले घर–घरबाट ल्याएको पूजा सामग्रीसहित होलीको प्रतीक पुत्ला स्थापना गर्छन्।”
उनका अनुसार यसरी होली राख्ने परम्परागत चलनलाई राना समुदायमा ‘होरी धरन’ भनिन्छ। यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास छ। यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने तथा परम्परागत पहिरनमा गीत गाउँदै नाच्ने प्रचलन रहिआएको छ।
फागु पूर्णिमाको दिन बिहान सबै सरसफाइ गरी मीठा–मीठा खानेकुरा पकाइ खाने परम्परा रहेको रानाले बताए। सोही दिन अपराह्न करिब तीन–चार बजे गाउँका सबै दाजुभाइ दिदीबहिनी आ–आफ्नै परम्परागत पहिरनमा सजिएर होलीको पुत्ला दहन गरिएको ठाउँमा गई चामल, गहुँ वा जौ चढाउँदै जलेको गुइँठालगायत अन्य काठ दाउराको खरानीको टीका लगाउने चलन रहेको स्थानीय मधोवर रानाको भनाइ छ।
“यो दिन वर्षभरिका दुःख कष्टलाई बिर्सने, छिमेकमा हुने आपसी मतभेद, लडाइँ, झगडा एवं हरेक प्रकारका बेमेल त्यागेर ‘राम राम’ भन्दै भेटघाट गर्ने दिन हो,” रानाले भने, “होलीको टीका लगाउनुपूर्व आगो निभाउन र त्यसपछि टीका लगाउनका लागि खेलिने होलीमा गाइने गीतको छुट्टा–छुट्टै भाका हुन्छ।”
होलीकै अवसर पारी सामाजिक सद्भाव एवं आपसी सम्बन्ध बलियो बनाउन पालैपालो छर–छिमेकमा समेत निम्ता गरी भोज खुवाउने परम्परा छ। “कहीँ कहीँ सामूहिक रूपमा घर–घरमा गई गीत गाउँदै होरी नाच गरी दक्षिणा (फगोहा) माग्ने चलन पनि छ,” उनले भने, “होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन छ। होली एक महिना आठ दिनसम्म खेलिन्छ।”
परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। जुन घरमा खेल्यो त्यही घरमा खाना खाने र रातभर होली खेल्ने प्रचलन छ। पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत होली मनाउने चलन छ। होली दहन गरेको ठाउँमा चामल चढाएर सुस्वास्थ्य र लामो आयुका लागि आशीर्वाद माग्ने चलन रहेको स्थानीय बताउँछन्।
महिलाहरूले घगरिया, अङिया, फतुइ (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन रहे पनि पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
