दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

आम आदमी पार्टीका नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालतमा निवेदन दिइएको र तत्काल सुनुवाइको माग गरेको बताए।

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पक्राउ परेका छन्। उनलाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (ईडी)ले बिहीबार राति उनको निवासबाट पक्राउ गरेको हो।

आम आदमी पार्टीका नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवाललाई पक्राउ गरेको बताए। उनका अनुसार ईडीले पक्राउ गरे पनि केजरीवाल मुख्यमन्त्री रहिरहने र उनले जेलबाटै सरकार चलाउने छन्।

“अरविन्द केजरीवालको गिरफ्तारी भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र हो,” उनले भारतीय सञ्चारमाध्यमसँग भने, “यदि प्रधानमन्त्री नरेन्द्र मोदी कुनै नेतासँग डराउँछन् भने त्यो अरविन्द केजरीवालसँग हो।”

उनले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालतमा निवेदन दिइएको र तत्काल सुनुवाइको माग गरेको बताए। “ईडीले गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी खारेज गर्नका लागि हामी सर्वोच्च अदालत गएका छौँ, हामीले आजै राति सर्वोच्च अदालतसँग तत्काल सुनुवाइको माग गरेका छौँ,” उनले भनेका छन्।

मदिरा नीति मुद्दाका सम्बन्धमा सोधपुछका लागि ईडीको टोली बिहीबार केजरीवालको निवासमा पुगेको थियो। टोलीले उनको निवासमा खोजी अभियानसमेत चलाएको थियो। नियन्त्रणमा लिनुअघि केजरीवालसँग ईडीका अधिकारीहरूले दुई घण्टा लामो सोधपुछसमेत गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसअघि दिल्ली उच्च अदालतले अन्तःशुल्क नीति मुद्दाका सम्बन्धमा केजरीवाललाई अन्तरिम सुरक्षा दिन अस्वीकार गरेको थियो। त्यसपछि ईडीको टोली उनको निवास पुगेको थियो। ईडीको टोली पुग्दा आम आदमीका कार्यकर्ताहरूले मुख्यमन्त्री केजरीवालको निवासबाहिर विरोध प्रदर्शन गरेका थिए। भारतमा बहालवाला मुख्यमन्त्री पक्राउ परेको दोस्रो घटना हो। यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका थिए।