उपत्यकावासीलाई सतहमुनिको पानीले सहजता दिलाएको छ। तर सतहमुनिको पानी पनि सुक्दै गइरहेको छ। यसले जमिनसमेत भासिने खतरा बढाएको छ।
काठमाडौँ– “एक भाँडो पानीका लागि लाइन बसेको एक घण्टा भयो । खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेमध्ये ६० वर्षीय रेवती पौडेलले भने, “मेलम्ची आयो, घरबेटीका लागि। डेरामा बस्नेका लागि कहाँ हो र?”
रामेछाप स्थायी घर भएका उनी हाल जडीबुटीमा बस्दै आएका छन्। उपत्यकामा सुख खोज्दै आउँदा पानीको चरम समस्या भोगिएला भन्ने लागेको थिएन। मेलम्ची आएपछि सुख पाइएला भन्ने थियो तर घरबेटीले प्रयोग गर्छन्। भाडामा बस्नेलाई प्रयोग गर्न नदिने उनको भनाइ छ। “पहिल्यैदेखि नै हामी एक भाँडो पानीका लागि घण्टौँ लाइन बस्दै आयौँ। अब त मेलम्ची आएर सुख पाइन्छ कि भनेको सास्ती उस्तै छ,” भुईंमा राखेको भाँडो पर सार्दै उनले भने, “सरकारले हाम्रो समस्या छिट्टै बुझिदिए हुन्थ्यो नि!”
त्यही धारामा पालो कुर्दै बसेकी मैया श्रेष्ठको चिन्ता पनि उस्तै थियो। उमेरले बुढ्यौली लाग्यो। ठूलो भाँडोमा पानी बोक्न सक्दिनन्। साना बोतल लिएर जाँदा पनि घण्टौँसम्म पनि लाइनमा बस्नुपरेको उनले सुनाइन्। “मेरो घर भोजपुर हो। हामी जडीबुटी बसेको २० वर्ष भयो। पहिला पनि लाइन बसेर पानी थाप्नुपर्थ्यो। मेलम्ची कहिले आउँछ कहिले आउँदैन,” उनले भनिन्, “ठूलो भाँडामा पानी लानै सकिँदैन। सानासाना भाँडामा पानी थापेर कतिले पुग्नु।”
यस्तै, पानीकै लागि रात माया मारेर अनिदो बस्न बाध्य कैयौँ गृहिणीमध्ये एक हुन्, काठमाडौँ डल्लु बस्दै आएकी सरस्वती बुढामगर। “धारामा पानी रातिमा आउँछ। सुतेपछि निदाइएला र पानी थाप्न नपाइएला भन्ने चिन्ता लाग्छ। पानी आउने दिनमा रातै माया मारेर अनिदो बस्छु,” उनले भनिन्।
उपत्यकामा यस्ता समस्या भोग्ने अरू पनि छन्। मेलम्ची आयोजनाले केही खुशी त ल्याएको छ तर उपत्यकाका सबै बासिन्दाले प्रयोग गर्न पाएका छैनन्, मेलम्ची खानेपानी। आयोजना अनिश्चित हुँदा वर्षासँगै बन्द हुने र हिउँदसँगै खुल्ने मेलम्चीले उपत्यकावासीलाई आशातीत खुशी दिन सकिरहेको छैन। मेलम्ची आए पनि वर्षासँगै बन्द हुने कुराले चिन्तित छन्, लैनचौर बस्ने सोधा सापकोटा। “मेलम्ची आएको छ, केही हदसम्म त सजिलै छ,” उनी भन्छिन्, “तर अब फेरि कहिले बन्द हुने हो? के भर छ र? अनि समस्या पहिल्यैको जस्तै।”
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा बढ्दो जनसंख्यासँगै खानेपानीको माग बढी र सो अनुसार आपूर्ति व्यवस्थापन कम हुँदा समस्या उत्पन्न भएको बताए। “अहिले उपत्यकामा खानेपानीको माग ४७ करोड लिटर छ तर मेलम्चीसहित २६ करोड लिटर मात्रै खानेपानी आपूर्ति भइरहेको छ,” उनले भने, “मागअनुसार खानेपानीको आपूर्ति व्यवस्थापन गर्न खानेपानीको नयाँ स्रोत पहिचान र अन्य नयाँ योजना तर्जुमा गर्न आवश्यक छ।” मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको तथा याङ्ग्री र लाक्रे खानेपानी आयोजना निर्माणको टुंगो नलागेकाले थप अन्योल उत्पन्न भएको उनले बताए।
नेपालको संविधानको धारा, ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हक हुने व्यवस्था गरिएको छ। तर नागरिकले उक्त मौलिक हकको प्रत्याभूति गर्न नपाएको र मौलिक हक कार्यान्वयनमा चुनौती रहेको बताउँछन्, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी। “प्रत्येक नागरिकले मौलिक हकअनुसार सफा पानी पिउन पाउनुभएको छैन भने कानूनी उपचारमा जान पाउनुहुन्छ। तर मौलिक हक कार्यान्वयनका लागि आवाज उठाउनुपर्छ भन्ने जनचेतनाको विकास भइसकेको छैन,” उनले भने।
‘हेडवर्क्स’ नै स्थानान्तरण गरेर बाह्रै महिना मेलम्ची ल्याउने तयारी
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट उपभोक्तालाई बाह्रै महिना पानी वितरण गर्ने गरी अध्ययन शुरू गरिसकेको छ। सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गरेर उपभोक्तालाई स्थायी रूपमा खानेपानी वितरण गर्ने लक्ष्य लिइएको हो।
वर्षायामको शुरूआतसँगै बाढीबाट आयोजनाको ‘हेडवर्क्स’ नै जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द हुने गरेको छ। हिउँदमा आयोजना सञ्चालन गर्नुपर्ने र वर्षायाममा खोल्नुपर्ने अवस्था अन्त्य गर्न हेडवर्क्स नै अनेत्र स्थानान्तरणको तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धाराधारामा पानी वितरण गर्न हेडवर्क्स नै स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको छ। “मेलम्ची आयोजनालाई स्थायी नबनाएसम्म सम्भावित मौसमजन्य विपत्तिको घटनाबाट बचाउन वर्षामा बन्द गर्नुपर्ने अवस्था रहन्छ,” उनले भने, “यसकारण हामीले कुन स्थानमा आयोजनाको हेडवर्क्स सार्नुपर्न उपयुक्त हुन्छ? लागत कति लाग्छ? थाहा पाउन अनुसन्धान गरिरहेका छौँ।” , अध्ययनका लागि इन्जिनियरिङ संस्थान पुलचोकलाई जिम्मा दिइएको उनले बताए।
जलवायु अनुकूलन आवश्यक
जलवायु परिवर्तनका कारण भावी दिनमा पानीको मुहान सुक्दै जाने र कतिपय ठाउँमा विकराल समस्या बन्ने बताउँछन् जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेती। “खानेपानीका मुहान सुक्दै गइरहेका छन्, पानीको उपलब्धता भोलिको दिनमा नहुन सक्छ र भावी दिनमा पानीको संकट विकराल बन्न सक्छ। पानी लिन टाढा जानु पर्न सक्छ। आर्थिक क्रियाकलापमा पनि धेरै असर पर्न सक्छ,” उनले भने, “अबको समस्याको समाधान भनेको नवीकरणीय ऊर्जामा जानुपर्छ। वनको व्यवस्थापन गर्नुपर्छ, ‘रिचार्ज’ पम्प बनाउनुपर्छ। पानी होल्ड गरेर राख्ने क्षमता बढाउन पोखरी बनाउनाका साथै पहिरो व्यवस्थापन गर्नुपर्छ।”
सतहमुनिको पानी संरक्षण गर्न आवश्यक
उपत्यकावासीलाई सतहमुनिको पानीले पनि सहजता दिलाएको छ। तर सतहमुनिको पानी सुक्दै गइरहेको बताउँछन्, भूगर्भविद् डा. सुवोध ढकाल। “उपत्यकामा धेरै घर बनेर सतहमुनिको पानी घटेको छ। ढुंगेपानीको तह घटिरहेको छ र यसले जमिन समेत भासिने खतरा बढाएको छ। जमिनमुनिको भण्डारको पानी निकालिएको छ तर पानी हाल्न सकिएको छैन। जमिनमुनि पानीको रिचार्ज बढ्न सकेको छैन,” उनले भने, “यसले पानी सुक्ने खतरा पनि बढिरहेको छ। मेलम्ची आएपछि जमिनमुनिको पानी केही सञ्चिति हुन सक्छ तर सतहमुनिको पानी संरक्षणका लागि पनि राज्यले नीति लिएर अगाडि बढ्नुपर्छ।”
आयोजनाको दिगोपना आवश्यक
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले संविधानले व्यवस्था गरेको स्वच्छ खानेपानी सबैको पाउनुपर्ने नागरिकको मौलिक हक कार्यान्वयन नभएको भन्दै सरकारले खानेपानीका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए। “अझै पनि कैयौँ खानेपानी उपभोक्ता घण्टौँ लाइनमा बसेर पानी पाएका छन्। कैयौँ उपभोक्ता टाढा गएर खानेपानी ल्याउन बाध्य भएका छन्। सबैमा खानेपानीको पहुँच पुग्न जरुरी छ,” उनी भन्छन्, “सरकारले ल्याएको उच्च तथा मध्यमस्तर खानेपानी आयोजनाअन्तर्गत एक घर एक धारा कार्यक्रमले उपभोक्तामा एक खालको उत्साह त ल्याएको छ तर लक्ष्यअनुसारको उपलब्धि हासिल भइरहेको छैन।”
अर्यालले संघ, प्रदेश र स्थनीयस्तरमा समन्वयको अभावका कारण धेरै स्थानमा कार्यक्रमको दोहोरोपनका समस्या धेरै आएको बताए। “खानेपानीका कार्यक्रम कहाँ कसरी गर्ने भन्ने विषयमा तीनवटा सरकारबीचमा समन्वयन नै हुन सकिरहेको छैन,” अर्यालले भने, “यसले गर्दा कस्तो समस्या उत्पन्न भएको छ भने कुनै स्थानमा एकै किसिमको कार्यक्रम दोहोरो भएको छ, स्थानीयको, प्रदेशको यो केन्द्रको ध्यान पनि एकै स्थानमा परेको छ, कति ठाउँ खानेपानीको विकराल समस्या छ तर त्यहाँ कुनै पनि सरकारको ध्यान जान सकिरहेको छैन।”
निर्माण भएका कतिपय खानेपानी आयोजना दिगो रूपमा सञ्चालन हुन नसकेको उनको गुनासो छ। “खानेपानीका आयोजनाको दिगोपना नै छैन,” अध्यक्ष अर्यालले भने, “योजना बन्ने तर दुईचार वर्षपछि पानी आउन छोड्ने समस्या पनि कतिपय ठाउँमा देखिएको छ।”
सन् २०२५ सम्ममा दुई अर्ब मानिसले पानीको चर्को अभाव झेल्नुपर्ने संयुक्त राष्ट्रसंघले बताएको छ। बढ्दो जलवायु परिवर्तनका कारण विश्वमा देखिने मुख्य संकटमध्ये खानेपानीको संकट पनि एक हुने भन्दै वातावरणविद्को चिन्ता छ। विश्वमा जलवायु परिवर्तनको असर बढिरहेको छ। त्यसको मुख्य असर खानेपानीको क्षेत्रमा पनि पर्ने विज्ञहरूको भनाइ छ। कालान्तरमा भोग्नुपर्ने समस्यासँग कसरी जुध्ने भनेर हामीले आगामी नीति तथा भावी आयोजनामा समावेश गरेर अगाडि बढ्नुपर्ने देखिन्छ।
दिगो विकासको लक्ष्यले पनि सन् २०३० सम्ममा सबैको खर्चले धान्न सक्ने लागतमा सबैका लागि समतामूलक रूपमा सुरक्षित खानेपानी पुर्याउने, सन् २०३० सम्ममा सबैका लागि पर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच हासिल गर्ने र खुला दिसा गर्ने अभ्यासको अन्त्य गर्ने लक्ष्य राखेको छ।
महिला, बालिका, किशोरी तथा अन्य संकटासन्न अवस्थामा रहेकाको आवश्यकतालाई विशेष ध्यान दिने, सन् २०३० सम्ममा प्रदूषण कम गरेर, जताततै फोहोर फ्याँक्ने प्रवृत्ति हटाएर, खतरनाक रसायन एवं अन्य सामग्रीको न्यूनीकरण गरेर पानीको गुणस्तर सुधार गर्ने, विश्वव्यापी रूपमा प्रशोधन नगरिएको फोहोर पानीको मात्रालाई आधा गर्ने तथा उल्लेख्य मात्रामा प्रशोधन गर्ने र सुरक्षित रूपमा पुनः प्रयोग गर्ने लक्ष्य छ।
दिगो विकासको लक्ष्यमा भनिएको छ, “सन् २०३० सम्ममा पानीको अभावलाई सम्बोधन गर्न तथा पानीको अभाव झेलिरहेको जनसङ्ख्यालाई उल्लेख्य रूपमा घटाउन सबै क्षेत्रमा पानी उपयोग कुशलता उल्लेख्य मात्रामा वृद्धि गर्ने र स्वच्छ पानीको दिगो निष्कासन तथा आपूर्ति गर्ने लक्ष्य छ।”
चालु आर्थिक वर्षका मुख्य योजनामा सबै नागरिकलाई आधारभूत खानेपानीको सेवाको पहुँच पुर्याई गुणस्तरीय खानेपानी सेवा विस्तार गर्दै लगिने, ‘एक घर एक धारा’को लक्ष्य प्राप्त गर्ने गरी खानेपानी आयोजना तथा कार्यक्रम सञ्चालन गरिने, आगामी आर्थिक वर्ष आधारभूत स्तरको खानेपानी सेवाबाट ९८ प्रतिशत, उच्च मध्यमस्तरको खानेपानी सेवाबाट ३० प्रतिशत र प्रशोधनसहितको ढल प्रणाली सुविधाबाट ४।५ प्रतिशत जनसंख्या लाभान्वित हुने गरी खानेपानी तथा सरसफाइ कार्यक्रम अघि बढाइने उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
