न्याय क्षेत्रमा महिलाको समान नेतृत्वदायी भूमिका अपरिहार्य : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश श्रेष्ठले न्याय, समानता र विधिको शासन प्रत्याभूतिका लागि महिलाको समान प्रतिनिधित्व र नेतृत्वदायी भूमिका अपरिहार्य रहेको बताएका छन्।

काठमाडौँ– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय, समानता र विधिको शासन प्रत्याभूतिका लागि महिलाको समान प्रतिनिधित्व अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार ललितपुरमा महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै श्रेष्ठले न्याय समानता र विधिको शासन प्रत्याभूतिका लागि महिलाको समान प्रतिनिधित्व र नेतृत्वदायी भूमिका अपरिहार्य भए पनि न्यायपालिकामा महिला न्यायाधीशको संख्या तुलनात्मक रूपमा कम रहेको बताए।

“खासगरी न्याय समानता र विधिको शासनको प्रत्याभूतिका लागि महिलाहरूको समान प्रतिनिधित्व र नेतृत्वदायी भूमिका अपरिहार्य हुने तर न्यायपालिकामा महिला न्यायाधीशको संख्या तुलनात्मक रूपमा कम तथा नेतृत्व तहमा समेत अत्यन्त न्यून रहेको छ,” उनले भने।

उनले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने भन्दै आफूले न्यायालयको नेतृत्व सम्हालेदेखि नै सुधारका लागि काम शुरू गरी निरन्तरता दिइरहेको बताए।

त्यस्तै, कार्यक्रममा कानून न्याय तथा संघीय मामिलामन्त्री पदम गिरीले महिला न्यायाधीशले सम्पादन गरेका न्यायहरू बढी विवादरहित हुने बताए। विगतबाट नै महिला न्यायाधीशहरूले सम्पादन गरेका न्यायहरू साँच्चै न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिन सक्ने ल्याकत राखेको उनको भनाइ छ।

“न्याय सम्पादन सधैँ सही हुन्छ भन्ने पनि मलाई लाग्दैन। कहिलेकाहीँ त्यसमा कमीहरू आउन सक्छन् होला। किनभने कहिलेकाहीँ त्यसलाई सच्याइएको अभ्यासहरू पनि छन्। तुलनात्मक रूपले हेर्ने हो भने महिला श्रीमान‍्ले, महिला न्यायाधीशहरूले सम्पादन गरेका न्यायहरू बढी विवादरहित र साँच्चै न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिन सक्ने त्यो ल्याकत राखेको विगतबाट हामी देख्न सक्छौँ त्यो गौरवको विषय हो,” उनले भने।