वैदेशिक रोजगारीको नाममा काठमाडौँ ल्याई बन्धक बनाइएका ४ बांग्लादेशी नागरिकको उद्धार

प्रहरीले वैदेशिक रोजगारका लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने प्रलोभनमा पारी नेपाल ल्याई बन्धक बनाएका चार बांग्लादेशी नागरिकको उद्धार गरेको छ भने उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरे छ।

काठमाडौँ– वैदेशिक रोजगारका लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार बांग्लादेशी नागरिकको उद्धार गरिएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति उनीहरूलाई उद्धार गरी उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

काठमाडौँ महानगपालिका–१६ पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो। उनका अनुसार उक्त कार्यमा संलग्न रहेका बांग्लादेशी नागरिक नुरूल हुडा, सामिम अहमद, एमडी मासुम बिल्लाह र प्रणय कुमारलाई पक्राउ गरिएको हो।

गिरोहले पासपोर्ट नियन्त्रणमा लिई धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लगेर जबरजस्ती बन्धक बनाइराखेको पीडितहरूले प्रहरीलाई बयान दिएका छन्।

उनीहरूमाथि अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको पोखरेलले बताए। पीडितहरूलाई नेपालस्थित बांग्लादेशी राजदूतावासमार्फत पठाइने जनाइएको छ।

सुमना श्रेष्ठका हत्या आरोपी पक्राउ
प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरान उपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय धरानमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा  प्रहरी उपरीक्षक विपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको मूलघाटबाट पक्राउ गरिएको जानकारी दिए। उनले प्रेमसम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको बताए।

उनका अनुसार हत्या गरिएकी श्रेष्ठ र हत्या आरोपी भुजेलबीच दुई वर्षदेखि प्रेमसम्बन्ध रहेको अनुसन्धानका क्रममा देखाएको छ। तर गत पुसदेखि श्रेष्ठसँग सम्बन्ध बिग्रिएपछि आरोपी भुजेलले योजनाबद्ध रूपमा श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रउ रेग्मीले पत्रकार सम्मेलनमा बताए।

प्रहरीले श्रेष्ठको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरीसमेत सार्वजनिक गरेको छ। यही चैत ६ गते राति हत्या गरी धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको खोल्सामा फालिएको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो।