आईएसले लियो मस्कोमा भएको आतंकवादी हमलाको जिम्मा

मस्कोस्थित क्रोकस सिटी हलमा शुक्रबार राति भएको हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएका छन्।

रुसको राजधानी मस्कोस्थित क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ। 

शुक्रबार राति भएको हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ।

आईएसले अमाक समाचार एजेन्सीमार्फत विज्ञप्ति जारी गर्दै हमलाको जिम्मा लिएको हो। “हाम्रा लडाकुहरूले रुसी राजधानी मस्कोको बाहिरी भागमा रहेको क्रोकस कन्सर्ट हलमा हमला गरेका थिए। त्यसपछि उनीहरू सुरक्षित रूपमा आफ्नो अड्डाहरूमा फर्किएका थिए,” विज्ञप्तिमा भनिएको छ। 

उक्त हमलालाई रुसमा पछिल्लो दुई दशकमा भएको सबैभन्दा ठूलो आतंकवादी हमला मानिएको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई ‘ठूलो त्रासदी’ भनेका छन्। 

रुसी सञ्चारमाध्यमका अनुसार पश्चिमी भागमा रहेको क्रोकस सिटी हलमा भएको हो। सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा भवनको माथिबाट कालो धुवाँको ठूलो मुस्लो उठेको देखाइएको छ। 

प्रख्यात रुसी रक ब्यान्ड ‘पिकनिक’को कन्सर्टमा सहभागी हुन क्रोकस सिटी हलमा मानिसको भीड जम्मा भएको बेला आक्रमण भएको हो । यो हलमा ६ हजारभन्दा बढी मानिस अट्न सक्छन्।