तान्द्राङ खोलामा पुल बन्यो, ४ गाउँपालिकाका स्थानीय लाभान्वित

पुल निर्माण भएपछि गोरखाको भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज भएको छ।

गोरखा– गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ। 

भीमसेनथापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४.४ मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए। 

बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको चार महिना भित्रै निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ। पुल निर्माणका लागि कार्यालयले जलप होम जेभीसँग गएको मंसिर १५ गते ठेक्का सम्झौता गरेको थियो। एक वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।

पुल निर्माणको लागत तीन करोड ८९ लाख ८३ हजार रुपैयाँ रहेको छ। वारिपारि दुवैतर्फ ५०/५० मिटरको पहुँचमार्ग निर्माण गरिएको इन्जिनियर श्रेष्ठले बताए। यहाँ पहिले पक्की पुल निर्माण गर्ने डीपीआर भएको थियो। तर राष्ट्रिय गौरवको आयोजनाको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले त्यसलाई परिवर्तन गरेर बेलिब्रिज निर्माण गरिएको हो।

पुल निर्माण भएसँगै बेनिघाटदेखि आरुघाटसम्म दैनिक चल्ने सवारी साधनको आवागमनमा सहज भएको वडा नम्बर ८ का अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। 

पुल निर्माणले गोरखाको भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज भएको छ।