मस्को आक्रमणमा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो, विश्वभरबाट निन्दा

पुटिनले शत्रुहरूले आफूहरूलाई ‘विभाजित गर्न नसक्ने’ बताए। उनले आक्रमणमा संलग्न सबैको पहिचान गरी कारबाही गरिने प्रतिबद्धतासमेत जनाए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोस्थित क्रोकस कन्सर्ट हलमा गराइएको आक्रमणमा संलग्न ११ जनालाई नियन्त्रणमा लिएको बताएका छन्। शुक्रबार राति भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस)ले लिएको छ। यो आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ११५ पुगेको छ।

राष्ट्रका नाममा सम्बोधनका क्रममा पुटिनले यो घटनालाई ‘बर्बर आतंकवादी कार्य’को संज्ञा दिँदै कन्सर्ट हलमा भएको गोलीकाण्डमा प्रत्यक्ष संलग्न चार बन्दुकधारीलाई हिरासतमा राखिएको बताए।

उनका अनुसार आक्रमणकारी युक्रेनतर्फ भाग्ने प्रयास गरेका थिए। आफूले पाएको प्रारम्भिक जानकारीअनुसार युक्रेन तर्फका केही व्यक्ति उनीहरूलाई रुसी सीमा पार गराउन तयारी अवस्थामा रहेको उनले उल्लेख गरे। तर किभले पहिल्यै यो घटनामा युक्रेनी संलग्नताको दाबी ‘बेतुको’ भएको प्रतिक्रिया दिएको थियो।

पुटिनले शत्रुहरूले आफूहरूलाई ‘विभाजित गर्न नसक्ने’ बताए। उनले आक्रमणमा संलग्न सबैको पहिचान गरी कारबाही गरिने प्रतिबद्धतासमेत जनाए।

त्यसअघि आक्रमणका पीडितलाई सहयोग गर्ने चिकित्सक र सुरक्षा अधिकारीलाई धन्यवाद दिएका थिए। पुटिनले आक्रमणमा ज्यान गुमाएकाहरूको सम्मानका लागि मार्च २४ मा शोकसभा आयोजना गरिने घोषणासमेत गरेका छन्। पुटिनले शनिबार देशभर सुरक्षा व्यवस्था थप कडा पारिएको पनि बताए।

आक्रमणको विश्वभरबाट निन्दा
उक्त घटनाप्रति विश्वभरका नेताले दुःख व्यक्त गरेका छन् भने आक्रमणको निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विज्ञप्ति जारी गर्दै मस्को आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। 

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि आक्रमणमा ज्यान गुमाएका रुसी नागरिकप्रति शोक व्यक्त गरेको छ। उसले सबै राष्ट्रलाई रुसी सरकार र अन्य अधिकारीहरूसँग आतंकवादका यी निन्दनीय कार्यका दोषी र समर्थकलाई जबाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन ‘सक्रिय सहयोग गर्न’ आग्रह गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको भर्त्सना गरेका छन्। जापानको विदेश मन्त्रालयले आक्रमणको निन्दा गर्दै शोक सन्तप्त रुसी नागरिकप्रति समवेदना प्रकट गरेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। सीले चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने, आतंकवादी आक्रमणको कडा निन्दा गर्ने र आफ्नो राष्ट्रिय सुरक्षा र स्थायित्वको रक्षाका लागि रुसी सरकारको प्रयासलाई दृढतापूर्वक समर्थन गर्नेमा जोड दिए। 

अमेरिकाले गोलीकाण्डका पीडितप्रति समवेदना व्यक्त गर्दै थप जानकारी लिने प्रयास गरिरहेको जनाएको छ। युरोपियन युनियनले मस्को आक्रमणले विश्वलाई स्तब्ध बनाएको जनाएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इस्लामिक स्टेट (आईएस)ले रुसमा गरेको आतंककारी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताए। इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले उक्त आक्रमणलाई ‘आतंकवादी कार्य’ भनेकी छन्। प्रभावित जनता र पीडित परिवारप्रति पूर्ण ऐक्यबद्धता रहेको उनले बताएकी छन्।