दाङमा तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु

हाइटेन्सन लाइनको तार चुँडिएर घरको आँगनमा पुग्दा उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

दाङ– करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा दिलसरा र उनका नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो। घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ।

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासि चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।