चेतनाको अभावमा महिलाले रोग पालेको डा. कविता साहले बताइन्। अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाउने गरेको पाइएको उनको भनाइ छ।
चैनपुर– उमेरले ५२ पुगेकी दूधकला सार्कीले जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकी थिइन्। किनभने, उनलाई समयमा उपचार नभए बाँचुन्जेल नछोड्ने रोगले आफूलाई सताएको जानकारी थियो। उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित थिइन्।
रोग र गरिबीसँग लड्दै आएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको पहाड थियो। उपचार कोरा कल्पना मात्र। रोगको बेवास्ता गर्दै आएकी थिइन्। समस्या जटिल बन्दै गएपछि स्त्रीरोग विशेषज्ञ डा. कविता साहसँग सम्पर्क गरिन्। उनले यसअघि पुरुष चिकित्सकलाई समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारेकी थिइन्।
“धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भएँ,” उनले भनिन्, “पुरुषै पुरुष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ। महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ।”
जयपृथ्वी नगरपालिका–९ की दूधकलाको पाठेघर र मूत्रथैलीमा समस्या थियो। गत साता डा. साहको टिमले शल्यक्रिया गरेर रोग निर्मूल पारेपछि भने सार्कीले पुनर्जीवन पाएको बताइन्। “१० वर्षदेखिको समस्याले अब बाँचुन्जेल छोड्दैन कि भन्ने लागेको थियो। खुशीको कुरा, भगवान् नै फेला परेजस्तो भयो,” उनले भनिन्, “लामो समयदेखि हिँड्न, बस्न र पिसाब गर्दा हुने समस्या समाधान भयो।”
आफ्नो बिराम काटिएपछि घर परिवार, आफन्त सबैको मुहार उज्यालो भएको उनले सुनाइन्। दूधकलाको जस्तै रोग लुकाएर बसेकी केदारस्यूँकी सुनिता विकको पनि गत महिना शल्यक्रिया गरिएको थियो। उनी तल्लो पेट दुख्ने, महिनावारी गडबडी हुने, महिनावारी हुँदा रगत धेरै बग्नेलगायत समस्याबाट ग्रसित थिइन्। शल्यक्रियापछि उनले पनि समस्याबाट मुक्ति पाएको बताइन्।
जिल्लामा अधिकांश महिलाले आफ्नो रोग लुकाएर बसेको डा. साहको बुझाइ छ। “महिलाले आफ्नो समस्या नखोलेरै कतिपयको ज्यान पनि गइसकेको पनि हुन सक्छ। सदरमुकाममा बस्ने महिला नै आफ्नो समस्या लुकाएका देखिए भने गाउँघरमा कति होलान्,” उनले भनिन्।
डा. साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँग मात्रै आफ्नो समस्या सुनाउने रहेछन्। “म आएको दुई महिना हुन लाग्यो। दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ। पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न,” उनले भनिन्, “यसरी नै धेरै महिलाले रोग पालेको हुनसक्छ।”
दुई महिनाको बीचमा दुई जना महिलाको सफल शल्यक्रिया भइसकेको छ। एक जनाको अर्को साता गर्ने तयारी छ। गाउँघरमा चेतनाको अभावमा महिलाले रोग पालेको डा. साहको भनाइ छ। उनले भनिन्, “जिल्ला अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाएका देखियो। आफ्नो समस्या कसैलाई सुनाउँदा बेइज्जत हुने डरले कसैलाई नभन्ने रहेछन्। आजभोलि भने महिला स्वास्थ्यकर्मीसँग खुल्ने भएका छन्।”
आफ्नो समस्या सुन्ने र समाधान गरिदिने भन्दै बिरामी महिला तथा उनीहरूका आफन्तले डा. साहको प्रशंसा गर्ने गरेको अस्पतालका मेसु डा. धिरज विशङ्खले बताए। उनका अनुसार जिल्लामा नै पाठेघर र मूत्रथैलीको शल्यक्रिया पहिलो पटक भएको हो। जुनसुकै शल्यक्रियाका लागि अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालमा अब शल्यक्रिया सेवा प्राप्त हुन बझाङबासीकै लागि खुशीको कुरा भएको उनले बताए।
डा. विशङखका अनुसार जिल्लामा यसअगाडि महिला विशेषज्ञ डाक्टर आए पनि पाठेघरसम्बन्धी शल्यक्रिया हुन सकेको थिएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
