होली पर्वका अवसरमा सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदासमेत दिएको छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइन्छ।
काठमाडौँ– सद्भावनाको पर्व होली, आइतबार देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ। आफन्त मिलेर रङ, पानी खेलेर खुशी साट्ने होली पर्वको विशेषता हो।
काठमाडौँको वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्। होली खेल्न विदेशी पर्यटकसमेत उत्साहित हुने पर्यटकका पथप्रदर्शक राजन मिश्रले बताए। “हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर लैजाने गरेको छु,” उनले भने, “यो पर्व मन नपराउने कमै हुन्छन्।”
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलो मात्र गरिँदैन नाचगान पनि गरिन्छ। बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्। पाल्पाका किसन भट्टराईका अनुसार होलीमा टेम्को (परम्परागत बाजा) बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा हो। “गाउँमा अहिले पनि फागु खेल्ने चलन छ,” उनले भने, “काठमाडौँमा पानी र रङ छ्यापेर चित्त बुझाउनुपर्छ।”
हिन्दु धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन्। रङ लगाउँदा भागदौड भएछ। यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली मनाउन थालिएको किंवदन्ती छ। अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली मनाइने गरिएको मानिन्छ।
नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षिले होली पर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताए। “होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब,” उनले भने, “सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ।”
होली पर्वका अवसरमा सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदासमेत दिएको छ। तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भने सोमबार मात्रै होली मनाइन्छ।
होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि ४०० भन्दा बढी कर्मचारी खटाइएको छ।
अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने मैनालीले बताए। कसैले नियमविपरीत गरेको पाइए तत्काल कारबाही गर्ने उनले चेतावनीसमेत दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
