इलाममा सुहाङ र बझाङमा दमनलाई उम्मेदवार बनाउने एमालेको निर्णय

सत्तारुढ दल नेकपा एमालेले इलाम– २ बाट सुहाङ नेम्वाङ र बझाङ प्रदेशसभा– १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

काठमाडौँ– सत्तारुढ दल नेकपा एमालेले इलाम– २ बझाङ प्रदेशसभा– १ को उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुंगो लगाएको छ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले इलाम–२ र प्रदेशसभा १ मा हुन लागेको उपनिर्वाचनमा उठाउने उम्मदेवारको टुंगो लगाएको हो।

“उपनिर्वाचनअन्तर्गत इलाम–२ बाट पार्टीका तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ,” बैठकको निर्णय सार्वजनिक गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने, “बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।”

इलामका लागि उम्मेदवार चयन गरेका सुहाङ दिवंगत एमाले नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन्। इलाम–२ मा निर्वाचित सुवास र बझाङ प्रदेशसभा १ मा निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त रहेका स्थानमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो।

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको गत भदौ २६ मा निधन भएको थियो। सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री रहेका सिंहको असार ५ मा निधन भएको थियो।