क्रिमियामा तैनाथ २ रुसी सैन्य जहाजमाथि युक्रेनले गर्‍यो आक्रमण

क्रिमियाली क्षेत्रमा तैनाथ दुई रुसी सैन्य जहाजमाथि आक्रमण गरेको युक्रेनले दाबी गरेको छ।

क्रिमियाली क्षेत्रमा तैनाथ दुई रुसी सैन्य जहाजमाथि आइतबार राति आक्रमण गरेको युक्रेनले दाबी गरेको छ।

सञ्चार केन्द्र र ब्ल्याक सी क्षेत्रका धेरै पूर्वाधारमा सफलतापूर्वक प्रहार गरेको समुद्र, जमिन र आकाशमा आक्रमण गर्न रुसी सेनालाई सघाउने जहाज ‘यामाल’ र ‘अजोभ’माथि आक्रमण गरेको युक्रेनी सशस्त्र बलको रणनीतिक सञ्चार केन्द्रले आइतबार जनाएको छ।

रुसले सन् २०१४ मा कब्जा गरेको उक्त प्रायद्वीपमा शनिबार राति युक्रेनको ठूलो हवाई आक्रमणलाई आफ्नो सेनाले प्रतिकार गरेको मस्कोस्थित रुसी अधिकारीले बताएका छन्।

रुसले नियुक्त गरेको सेवस्तोपोलका गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्राम पोस्टमा लेखेका छन्, “यो पछिल्लो समयको सबैभन्दा ठूलो आक्रमण हो।”

उनका अनुसार आक्रमणका क्रममा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। उनले रुसी युद्धपोतमा कुनै क्षति भएको या नभएको भन्ने विषय खुलाएनन्।

सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा शहरमा ठूलो विस्फोट भएको, आगोको गोला र कालो धुवाँको मुस्लो हावामा उडिरहेको र रुसी हवाई प्रतिरक्षाले भित्रिने प्रक्षेपणलाई रोकेको देखिएको छ।

युक्रेनले युद्ध शुरू भएदेखि नै रुसको ‘ब्ल्याक सी’ क्षेत्रको करिब एक तिहाइ भाग नष्ट गरेको दाबी गर्दै आएको छ। भूउपग्रहबाट प्राप्त तस्वीरमा रुसले आफ्ना अधिकांश जहाजलाई पूर्वतर्फ नोभोरोसिस्क बन्दरगाहमा सारेको देखिएको छ।