जथाभाबी रङ दलेको आरोपमा २७७ जना पक्राउ

प्रहरीले होली पर्व मनाउने क्रममा जथाभाबी रङ दलेको तथा होहल्ला गरेको आरोपमा २७७ जनालाई पक्राउ गरेको छ।

होली मनाउन आउजाउ गर्ने मोटरसाइकललाई भद्रकालीमा चेकिङ गर्दै ट्राफिक प्रहरी । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ– प्रहरीले होली पर्व मनाउने क्रममा जथाभाबी रङ दलेको तथा होहल्ला गरेको आरोपमा २७७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुरुष २६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। 

“कानून विपरीत काम गर्ने २७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरूको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ,” उनले भने। 

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ६६४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जनाएको छ। यसमा दुईपांग्रे ६४९ तथा चारपांग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

लागुपदार्थ सेवन, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेका सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो। ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कुल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो।