ललितपुर: झडपमा २ जनाको मृत्यु, १८ जना प्रहरीको नियन्त्रणमा

आइतबार राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतीकात्मक तस्वीर

ललितपुर– ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति झडप हुँदा दुई जनाको मृत्यु भएको छ।

राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए। “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो। तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको कारण खुल्न सकेको छैन,” उनले भने।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए। शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ।