अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार भएको दुर्घटनामा  तीन जना घाइते भएका छन्।

अछाम– अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार भएको सो दुर्घटनामा  तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो। दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरी निरीक्षक साउदले बताए।

घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।