मनास्लुको आधार शिविरमा हिमपहिरो, आरोही तथा पदयात्री फसेको आशंका

मनास्लु आधारशिविरमा हिमपहिरो गएको छ। आरोहण तथा पदयात्राका लागि सो क्षेत्रतर्फ ४०० पर्यटक गएका थिए।

काठमाडौँ- मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो जाँदा आरोही तथा पदयात्री फसेको आशंका गरिएको छ। गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।



पहिरोमा परी पाँच जना पर्यटक घाइते भएको प्रारम्भिक जानकारी आए पनि यकिन भइनसकेको उनले बताए। उक्त क्षेत्रमा झण्डै ४०० जना पदयात्रा तथा आरोहणका लागि गएका छन्।



उनीहरूको उद्दारका लागि काठमाडौँबाट घटनास्थलमा हेलिकोप्टर पुगिसकेको छ। तर, मौसम खराबीका कारण उद्दारमा कठिनाइ भइरहेको चुमनुब्री गाउँपालिका वडा नम्बर-१ का वडाध्यक्ष कर्मा छेबाङ लामाले जानकारी दिए।



यस्तै, सोही क्षेत्रमा लेक लागेर एकजना अचेत भएको समेत सहायक प्रजिअ बरालले जानकारी दिए।