होलीमा पक्राउ परेका २७७ जनामध्ये १०५ जना छुटे

होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन्।

काठमाडौँ– होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो। 

गएराति छाडिएकामा १०२ पुरुष र ३ जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, “फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरू नियन्त्रणमा लिएका थियौँ, उनीहरूको अवस्था हेरेर १०५ जनालाई गएराति उनीहरुको परिवारको जिम्मा लगाइएको छ। राति थप केही पक्राउ परेका छन्, उनीहरू सबैको  हकमा छानबिन भइरहेको छ।”

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई पाङ्ग्रे सवारी ३०० वटा र चार पाङ्ग्रे ७ वटा सवारी साधनलई नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाएको छ। लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरूलाई सवारी साधन नियन्त्रणमा लिइएको हो। 

फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो। विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो।