कलात्मक रूपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि संकटमा पर्न थालेको बुर्तिबाङका नोठबहादुर विकको भनाइ छ।
म्याग्दी– दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र... घ्वार्र.. गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ। सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको संख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको हो।
करिब एक दशक अघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको संख्या बाक्लै थियो। कुनै समय गोठमा रहेका पशुचौपाया र ठेकी हेरेर घरको हैसियत आकलन गरिन्थ्यो।
अहिले समय, परिवेश फेरिएको छ। समयसँगै मानिस गाउँ छोडेर शहर र शहर छोडेर विदेश पस्न थालेका छन्। गाउँमा पशुपालन गर्ने, रैथाने सिपमा आधारित ठेकाठेकी बनाउने चुँदारा व्यवसाय पनि हराउँदै गएको स्थानीय बताउँछन्।
रैथाने सिप प्रयोग गरेर जंगलका काठबाट बनाइने ठेकी बिक्न छोडेपछि अहिले आफ्नो पेसा नै संकटमा पर्ने अवस्था आएको जिल्लाका चुँदारा व्यवसायीले बताएका छन्।
गाउँघरमा कतैकतै मही पारे पनि प्लास्टिकका ठेकीको प्रयोग हुन थालेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउँदै आएका बुर्तिबाङका नोठबहादुर विकले बताए। रैथाने काठका सामग्रीलाई आयातित प्लास्टिकका सामग्रीले विस्थापित गरेको उनको भनाइ छ।
काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस सिपालु मानिन्छन्। ठेकी कुद्ने कामलाई गाउँघरमा चुँदारा पेसा भन्ने गरिएको विकले बताए। कलात्मक रूपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि संकटमा पर्न थालेका उनको भनाइ छ।
“व्यवसाय नै परिवर्तन गर्ने अवस्था आएको । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग घट्दै गएपछि जीविकोपार्जन गर्नसमेत समस्या हुन लागेको छ”, विकले भने।
वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले यो पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए। १०/१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसालाई आफूले निरन्तरता दिएको भन्दै उनले दरबाट बनेका ठेकाठेकी बिक्न छोडेपछि जीविकोपार्जनमा समस्या हुन थालेको बताए।
आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायत ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको श्रीकृष्णलालको भनाइ छ। केही वर्ष अघिसम्म काठका सामान बनाएर मासिक २५/३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको भन्दै पछिल्लो समय मेलापर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका उनले बताए।
अहिले मुस्किलले मासिक पाँच/सात हजार रुपैयाँ मात्र कमाइ हुने गरेको श्रीकृष्णलाल बताउँछन्। “प्लास्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन,” उनले भने।
बजारमा काठका सामानको बिक्री घट्दै जानु, आयातित प्लास्टिकका सामग्रीको प्रयोग बढ्नु, गाउँघरमा काठका सामान बनाउन कच्चा पदार्थको अभाव हुनुलगायत कारणले परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ।
मिहिनेत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरूले बताउँछन्। विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायत समान बनाउने गरेका विश्वकर्माले यी सामानहरू बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
