सशस्त्र प्रहरीको एक प्लटुन फौज सीमा क्षेत्रमा चौबिसै घण्टा गस्तीमा

सशस्त्र प्रहरी बलले चौबिसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ तयार गरी लागू गरिएको छ।

तस्वीर : एपीएफ

काठमाडौँ– सशस्त्र प्रहरी बलले चौबिसै घण्टा देशको सीमा क्षेत्रमा गस्ती गर्न थालेको छ।सशस्त्र प्रहरी बलको एक प्लटुन फौजले अन्तर्राष्ट्रिय सीमा इलाकामा चौबिसै घण्टा गस्तीको शुरूआत गरेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत सशस्त्र प्रहरी बलले चौबिसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ तयार गरी लागू गरिएको हो। 

अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन फौज परिचालनमार्फत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएको उनको भनाइ छ। उनका अनुसार प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा एक प्लटुन टोली चौबिसै घण्टा सीमा गस्तीमा तैनाथ रहनेछ।

सीमा पैदल गस्तीसम्बन्धी अवधारणा तयार पारेलगत्तै मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले यसको शुरूआत गरेको उनले जानकारी दिए। उनका अनुसार नं. १३ गण पर्साले सीमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा नजिकका नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिई सीमास्तम्भको समेत संरक्षणमा ध्यान राख्दै पैदल गस्तीको शुरूआत गरेको हो। 

सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले फौज परिचालन गरिएको उनले बताए। “यसका साथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ,” उनले भने। 

उनका अनुसार यस अभियानबाट जिम्मेवारी लिइएका इलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायतका वर्तमान स्थितिका बारेमा जानकारी लिइने छ।  सीमा सुरक्षाको अवस्था, सीमास्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणका बारेमा जानकारी अद्यावधिक हुने छ। यसबाट प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमाका बसिन्दासँगको अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्य अभिवृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वास लिइएको पनि उनले बताए।

सशस्त्र प्रहरी बलका अनुसार सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र बेससमेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामाग्रीसहित परिचालन हुनेछ। एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती सञ्चालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग लिंंकअप गरी गस्तीलाई चक्रको रूपमा निरन्तरता दिइने छ।

आवश्यकताबमोजिम स्थानीय बासिन्दा, जनप्रतिनिधि, अन्य निकाय तथा समकक्षीसँग भेटघाट, अन्तरक्रिया, विपद् जोखिम न्यूनीकरण, मानव बेचबिखन तथा सीमा अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिने पनि सशस्त्रले जनाएको छ। “तराईका जिल्लामा मात्र नभई समयको अनुकूलता हेरी अन्य सीमावर्ती जिल्लाहरूमा समेत सीमा पैदल गस्ती गरिने छ,” सहप्रवक्ता, डीएसपी थापाले भने। सीमा गस्तीको आवश्यकताअनुसार सम्बन्धित जिल्लाका गणपति, बाहिनीपति र प्रधान कार्यालयबाट समेत अनुगमन हुने उनको भनाइ छ।