भाषिक सम्बोधनको कुरा आखिर विचार र चेतनाकै हो। भाषिक प्रयोगमार्फत कसैलाई आफूतल या आफूमाथि ठहर गर्न हामी खोजिरहेका छौँ भने त्यो साह्रै 'झुर' हो।
झन्डै ३० वर्षअघि ठूलो दाइको बिहे भयो। सानै भए पनि श्रीमान्–श्रीमतीबीचको सम्बोधन र पारिवारिक/सामाजिक सोपान (हाइरार्की) बुझ्ने भएको थिएँ। उत्तिखेरसम्म हाम्रा गाउँमा कुनै लोग्ने मान्छेले आफ्ना श्रीमतीलाई ‘तिमी’ सम्बोधन गरेको सुनेको थिइनँ। गाउँमा लोग्नेले श्रीमतीलाई ‘तँ’ भन्थे। श्रीमतीले श्रीमान्लाई ‘तपाईं’। कोठाभित्र के भन्थे कुन्नि, तर सार्वजनिक रूपमा अर्धांगिनीलाई ‘तिमी’ भन्न सक्ने ‘कुनै जोइटिंग्रे’ देखिएका थिएनन्। दाइ सरकारी शिक्षक हुनुहुन्थ्यो। अहिले पनि समाजमा शिक्षकको मर्यादा खास छ भने उतिखेर त अझै खास थियो। बिहेलगत्तै भाउजूलाई दाइले के भनेर बोलाउनुहोला भन्ने उत्सुकता ममा थियो। अचम्मै भयो, दाइले त भाउजूलाई ‘तिमी’ भनेर बोलाउनुभयो। परेन फसाद? घरमै भेटिए 'जोइटिंग्रे!'
स्थापित ‘तँ’ तोडेर दाइले भाउजूलाई 'तिमी' सम्बोधन गर्दा उमेरले दश नकाटेको बालकलाई समेत उतिखेर नपचेझैँ अहिले कतिपय 'सज्जन'लाई कतिपय निजी तथा सरकारी विद्यालयमा कलिला विद्यार्थीलाई 'तपाईं' सम्बोधन गर्ने अभ्यास असहज भएको बुझिन्छ। बच्चालाई ‘तपाईं भनेर बिगार्न लागे’ भन्ने पेटबोलीमा उनीहरू भनिरहेका छन्, ‘बच्चालाई वास्तविकता बोध गर्न दिनुपर्छ, तँ र तिमी पनि सिकाउनुपर्छ। नत्र त हाम्रो भाषा नासिँदैन? अंग्रेजको सिको गरेर सबैलाई एउटै सम्बोधन सिकाउने? यसो गर्दा त हाम्रो भाषिक सुन्दरता नै नासिन्छ’ आदि–आदि।
हाम्रोमा भाषिक सम्बोधनका अनेक दर्जा र भाषागत अभ्यास छन्, ‘तिमी राम्री छौ। तपाईं सुन्दर हुनुहुन्छ। हजुर राम्रो हुनुहुन्छ’ आदि। त्यसभन्दा माथि मौसुफ, महाराज, ख्वामित, जदौ र सरकारजस्ता पुराना र दासयुगीन दर्जा छन्। रहलपहल राजसंस्थाको अवशेषलाई अझै पनि तिनै दासयुगीन सम्बोधनसँगै 'बक्सियोस्' आदि जोडेर 'अति सम्मानित' गरिन्छ। आदररहित, सामान्य आदर र उच्च आदरार्थी शब्दको प्रयोग जातीय, वर्गीय र लिंगीय आधारमा सिर्जना गरिएका शब्द हुन्। दासयुगीन व्यवस्थाले सिर्जना गरेको सोपान हुन् यी। आफूलाई जनसाधारणभन्दा विशिष्ट देखाउन प्रयोगमा ल्याइएको भाषिक अभ्यास हुन्। दास, नोकर, हली, मजदुर, भरिया, महिला, बालबालिका, उत्पीडित समुदाय तथा अपांगता भएकाहरूका लागि ‘तँ’ र ‘तिमी’ हो भने त्यसबाहेकका सम्बोधन लोग्ने, 'ठूला' वर्ग/जाति, सुकिला, शासक र कर्मचारीका लागि।
२०७४ सालमा बिते साहित्यकार श्यामप्रसाद। उनले एउटा निबन्ध संग्रह नै छपाएका थिए, 'तँ, तिमी, तपाईं, हजुर'। समाजको विभेदकारी संस्कार र सामन्ती सोचबारे लेखिएको पुस्तक हो त्यो। दलित, गरिब र शारीरिक श्रम गर्नेलाई अपमान र उपहास, तर धनी, 'उच्च' जात/ओहदाकालाई भने आदर र सम्मान गर्ने गलत परम्परा र प्रवृत्तिविरुद्ध सो निबन्ध संग्रहको शीर्ष निबन्धमा प्रश्न गरिएको छ। अहिले पनि उमेरमा जेठो नै भए पनि खास समुदायकाले खास समुदायको अर्को व्यक्तिको नामको अन्तिम अक्षरमा एकलख लगाएर सम्बोधन गर्ने गर्छन्।
श्यामप्रसादको सो निबन्धमा कुनै साथीसँग घुम्न जाँदा घोडा लिएर गएको र आफूहरूले पालैपालो घोडा चढ्दा बाटामा भेटिने मानिसले घोडामा चढ्नेलाई मात्र सलाम गरेको प्रसंगले हामी किन कसैलाई सम्मान गर्छौं या तपाईं हजुर भनेर सम्बोधन गर्छौं भन्ने कुरा पनि प्रस्ट हुन्छ।
तँ र तिमीको अपमान त छँदैछ, उस्तै शारीरिक हाउभाउका साथ धाक-रवाफ प्रकट गर्छन् आफूभन्दा बढी उमेरका खास जात र वर्गका वृद्धवृद्धामाथि खास जात र वर्गका मान्छे। पहाडियालाई बिरलै मधेश/तराईवासीले तिमी र तँ भन्लान्, तर मधेशीमाथि तँ र तिमीको अभ्यास अझै छ। अहिले पनि हामी पुरुष सगौरव आफ्ना श्रीमतीलाई तिमी भनिरहेका छौँ। श्रीमतीहरू श्रीमान्लाई तपाईं र हजुरको सम्बोधन सहज मानिरहेका छन्। हाम्रो घरमा त्यही छ, तपाईंको पनि प्राय: त्यही होला। एकाध कृष्ण धरावासीहरू श्रीमतीलाई तपाईंको सम्बोधन गर्छन्, त्यो अपवाद मात्र हो।
किनकि यी सम्बोधन हाम्रा दिमागमा किलाझैँ गाडिएका छन्। निकाल्न खोल्दा उल्टै दुख्ने। सोही कारण आफूलाई प्रगतिशील, सुधारवादी र क्रान्तिकारी भन्नेहरू पनि मौका पाउनेबित्तिकै कोही अनजानलाई समेत 'भाइ–बहिनी' भनिरहेका हुन्छन्। तँ र तिमीको सम्बोधनमा सहज महसुस गरिरहेका हुन्छन्। भित्र लुकेको जातीय, लैंगिक, भेगीय या उमेरगत श्रेष्ठताको अहंकार हामी लाजै नमानी सार्वजनिक गरिरहेका हुन्छौँ।
आफ्नै प्रसंग उल्लेख गरौँ। झन्डै १५ वर्षअघि आफू पढ्ने क्याम्पसका साथीहरू मिलेर क्याम्पसमा 'विशेष सांस्कृतिक कार्यक्रम' गर्ने भए। सँगै हिँड्ने अर्का मोटोघाटा साथी अकस्मात् सो कार्यक्रमको सभापति तय भए। अलि प्रौढ कुनै लेक्चरर/प्रोफेसर सभापति बनाइएलान् भन्ठानेको त आफ्नै साथी सभापति। पछि कुरा बुझ्दा साथी मोटोघाटा भएकै कारण सभापति बनाइएको कार्यक्रम आयोजकमध्ये एकले सगौरव बताए।
अर्को प्रसंग, जन्मगाउँका आफन्त पर्ने, उमेरले १५ वर्षजति अन्तरका दाइ पहिलेपहिले बेलाबेला राजधानी आउँदा मलाई 'तपाईं' भन्थे, म गाउँ जाँदा भने 'तिमी'। म अन्योलमा पर्थें उनको मनोदशा देखेर। यस्तै प्रसंग श्यामप्रसादले आफ्नो निबन्धमा उल्लेख गरेका छन्। श्यामप्रसादले मोटोघाटो र सुकिलो मान्छेलाई तपाईंको सम्बोधन गरिने र श्रम गर्नेहरूको नेपाली/भारतीय समाजमा अपमान हुने उल्लेख गरेका छन्।
सम्बोधनको सम्बन्ध कहीँ न कहीँ सामाजिक/आर्थिक शक्ति/सम्पन्नता/विपन्नता र अनेकन् विभेदसँग जोडिएको छ। त्यसकारण, नेपाली भाषाले कमसेकम सार्वजनिक 'स्पेस'मा एउटा ग्राह्य सम्बोधन खोज्ने प्रयास गरिरहेको छ, जसरी अंग्रेजी भाषामा पहिल्यै 'यु' छ। चोर र बलात्कारीदेखि राष्ट्रपतिसम्मलाई यु। बाटामा भेट्दा पनि यु, दरबार र जेलमा भेट्दा पनि यु। मिडियामा यु। 'न्युट्रल' शब्दका रूपमा त्यो स्थापित छ। त्यसो हुँदा अंग्रेजी भाषा प्रयोगकर्तालाई सहज छ। र, कमसेकम सम्बोधनको भाषाकै कारण तिनको समाजमा कसैले अपमानित हुनुपर्दैन।
हाम्रोमा पनि मिडियाले झन्डै डेढ दशकयता हत्यारा, बलात्कारीदेखि देशका सबैभन्दा ठूला भनिनेसम्मलाई 'भनेका छन्, गरेका छन्' (तिमी बोध हुने सम्बोधन) प्रयोग गर्न थालेको धेरै भइसक्यो। एमाले नेता तथा पूर्वप्रधानमन्त्री ओलीले यसमा दुई सालअघि आपत्ति जनाएका थिए। राष्ट्रपतिलाई यस्तो खालको भाषा प्रयोग गरिएकोमा उनको असहमति थियो। उनको रोष सहीझैँ लागे पनि एउटै सम्बोधनले सबैलाई समेट्न कमसेकम हाम्रो समाजमा कठिन छ। राष्ट्रपति र हत्या आरोपीलाई दुई फरक सम्बोधन गर्ने कुरा मिडियाका लागि चुनौतीपूर्ण हो। आजका दिनमा कमसेकम धेरैजसो मिडियामा सबैलाई 'गरेका छन्' र 'भनेका छन्' को अभ्यास स्थापित छ।
तर अन्तर्वार्ता र सार्वजनिक सम्बोधनमा सबैले आफ्नो सहजताअनुसार सम्बोधन गरिरहेकै छन्। तपाईं र हजुरसमेत चलाएकै छन्। चुरो कुरो के हो भने भाषिक सम्बोधनको कुरा आखिर विचार र चेतनाकै हो। भाषिक प्रयोगमार्फत कसैलाई आफूतल या आफूमाथि ठहर गर्न हामी खोजिरहेका छौँ भने त्यो साह्रै 'झुर' हो। आम रूपमा जीवनमा भने हामी त्यही झुर अभ्यास सर्वत्र गरिरहेकै छौँ। बदलिन चाहिरहेका छैनौँ। निरन्तर बालबच्चा, महिला, हुँदा खाने वर्ग र उत्पीडित समूह/समुदायमाथि 'सम्बोधन'मार्फत अपमान गरिरहेका छौँ।
स्कुलमा शिक्षकले विद्यार्थीलाई निर्धक्क 'तँ' भनिरहेका छन्। सार्वजनिक कार्यालयमा पाका कार्यालय सहयोगीलाई 'तिमी'समेत भनेको सुनिन्छ। प्रकारान्तरले यो समाजले फ्याँक्न नकसेको दासयुगीन अभ्यास हो। यसबीच कतिपय निजी या सरकारी विद्यालयले स्कुल पढ्ने नानीबाबुहरूलाई 'तपाईं' भन्न थालेका छन्। हामीलाई असहज लागे पनि यो नवअभ्यास वास्तवमै सुन्दर अभ्यास हो। साना नानीहरू हाम्रा 'तपाईं' हुन्, आदरयोग्य हुन्। गत कात्तिकमा बितेका बाल साहित्यकार शान्तदास मानन्धरले पनि जानेदेखि बालबालिकालाई तपाईं भन्नुपर्छ भन्दै वकालत गरिरहे।
साहित्यकार अभि सुवेदीका अनुसार पञ्चायतकालमा राजाले प्रधानमन्त्रीलाई 'तिमी' भन्थे। वीरेन्द्रले पनि एक सन्दर्भमा गणेशमानलाई तिमी भनेछन्। सिंहले राजालाई सिकाउँदै भनेछन्, ‘यसरी आफ्ना हजुरबासँग काम गरेका राजनेतालाई सरकारले तिमी भन्नुहुँदैन, सम्मान गरेर बोल्नुपर्छ।’ सुवेदीका अनुसार त्यसपछि वीरेन्द्रले त्यही दिनदेखि नेताहरूलाई तिमी भन्न छाडे। यो सन्दर्भ यहाँ किन उल्लेख गर्न खोजेको हो भने राजाहरूले 'रैती'लाई समेत ऊ जमानैमा तिमी भन्न छाडेका थिए।
भाषा जोगाउने नाममा तँ र तिमीको अभ्यास गर्नुपर्छ भन्ने तर्क साह्रै निम्छरो किन पनि हो भने भाषा संस्कृति सबै बदलिँदै जाने विषय हुन्। भाषा मान्छेका लागि हो, मानव-सञ्चारका लागि हो। मानव सम्मानमा ठेस पुग्ने उचनिच बुझाउने भाषिक सम्बोधनहरू मेटिँदै जानु आखिर त्यो भाषा समृद्ध हुँदै जानु नै हो। तँ र तिमी जोगाउनुपर्छ भन्ने हो भने त हाम्रा विभेदहरू पनि जोगाइराखौँ भन्दै तर्क गर्न सकिएला। मानव मर्यादा पहिले हो, अरू तपशीलका हुन्।
यस्तोमा, कतिले ‘मैले त फलानोलाई तँ भन्छु, तिमी भन्छु, तैपनि त्यसले कति माया गर्छ’ भन्ने तर्क पनि गर्छन्। तर ती दुर्लभ अपवाद हुन्। आम रूपमा कसैलाई पनि आफूलाई अरूले तँ भनेको शायदै मन पर्ला। एकाध अति व्यक्तिगत र प्रिय सम्बन्धमा तँ र तिमीको प्रयोग हुन्छ भने त्यो व्यक्तिबीचको खास सम्बन्ध हो। त्यो अपवादलाई जोडेर तँ र तिमीको सम्बन्धलाई सार्वजनिक रूपमा ग्राह्य र सम्मानयुक्त ठहर गर्न बिलकुल सकिँदैन। विभेदको विकार बोकेर हामी मर्यादित समाज स्थापना गर्न सक्दैनौँ। प्यारा नानीबाबुहरूलाई तपाईं भन्दा केही बिग्रँदैन, बरु बालबालिकाबाट शुरू भएको तपाईं बिस्तारै सर्वत्र स्थापित हुँदै जाला। भाषा मानवजातिका लागि हो, भाषाका लागि हामी होइनौँ।
यो लेखकको व्यक्तिगत विचार हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
