भिसा सकिएपछि पनि नेपालमा बस्दै आएका ५ बांग्लादेशी नागरिक पक्राउ

भिसा अवधि समाप्तपश्चात् गैरकानूनी तवरले नेपालमा बसिरहेका उनीहरूलाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

फाइल तस्वीर

काठमाडाैँ– भिसा अवधि सकिएपछि पनि नेपालमा बस्दै आएका पाँच बांग्लादेशी नागरिक पक्राउ परेका छन्। भिसा अवधि समाप्तपश्चात् गैरकानूनी तवरले नेपालमा बसिरहेका उनीहरूलाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा बांग्लादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

उनका अनुसार अनुसार भिसा अवधि समाप्तपश्चात् गैरकानूनी तवरले बांग्लादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानूनी ढंगले बसोबास गर्नाका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरूलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये विश्वास र मियाँलाई यही चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीन जनालाई सोमबार पक्राउ गरिएको हो। निजहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए।