निर्माण थालेको ७ वर्षसम्म पनि बनेन बडीगाढ खोलाको पुल

मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा दुई पटकसम्म ढलान गर्दैगर्दाको पुल भाँचिएपछि हाल डिजाइन परिवर्तन गरी तेस्रो पटक निर्माण शुरू गरिएको छ। 

फाइल तस्वीर

गुल्मी– मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो। तर अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन। पुल बन्ने आसैआसमा स्थानीयले सात वर्ष बिताइसके।

विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाईटी जयबुद्ध कन्ट्रक्सन प्रालिले पाँच करोड १७ लाख रुपैयाँको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो।

सम्झौताअनुसार पुल निर्माण शुरू पनि भयो। तर त्यही क्रममा दुई पटकसम्म पुल भाँचियो। जसका कारण हालसम्म पनि पुल निर्माण सकिएको छैन। दुई पटकसम्म ढलान गर्दैगर्दाको पुल भाँचिएपछि हाल डिजाइन परिवर्तन गरी तेस्रो पटक निर्माण शुरू गरिएको छ। 

डिजाइन परिवर्तनपछि स्टल ट्रस ब्रिज निर्माण शुरू गरिएको हो। मुसिकोटको झेँदीमा निर्माण हुन लागेको उक्त पुल वडागाउँ र वामी जोड्ने पालिकाको मुख्यद्वार मानिन्छ। लामो समयसम्म पनि पुल निर्माण नहुँदा त्यस क्षेत्रका मानिस कहिले पुल निर्माण होला भनेर पर्खाइमा छन्।

स्वीस सरकारको चार करोड १४ लाख ४४ हजार ७२२ रुपैयाँको आर्थिक सहयोगमा गत वर्षदेखि जलप कन्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको मोटरयोग्य सडक पुल कार्यक्रम ललितपुरका प्राविधिक अधिकृत धीराजा पौडेलले जानकारी दिए। 

आगामी असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। निर्माण व्यवसायीले निकै सक्रियताका साथ काम अगाडि बढेको हुँदा समयमै काम सम्पन्न हुनेमा आफूहरू आशावादी भएको पौडेलले बताए। उनले सम्झौता गरेपछि पनि पुलको डिजाइन केही संशोधन गर्नुपर्ने भएका कारण काममा केही ढिलाइ हुन पुगेको जानकारी दिए।

अहिले पुलको फाउन्डेसन निर्माणसहित स्टिलका पार्टमा प्वाल पार्ने, जोड्ने र आकार निर्माणका काम भइरहेको छ। बडीगाढ खोलाको झेँदीमा निर्माण हुन लागेको पुलको लम्बाई ५६.३० मिटर रहेको छ। अहिले स्टिल ट्रस ब्रिज निर्माण भइरहेको जलप कन्स्ट्रक्सनका सुपरभाइजर मोतीलाल शर्माले बताए।

मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल जीवनले यसपटक झेँदीमा पुल निर्माण हुनेमा आफू ढुक्क रहेको बताए। उनले ठूलो मिहिनेत गरेर डिजाइन परिवर्तन गरी तीव्र रूपमा काम अगाडि बढिरहेको दाबी गरे।