नेपालले जित्यो आयरल्यान्ड उल्भ्सविरुद्धको शृंखला

आयरल्यान्ड उल्भ्सविरुद्धको दुई खेलको टी२० शृंखला नेपालले जितेको छ।

काठमाडौँ– आयरल्यान्ड उल्भ्सविरुद्धको दुई खेलको टी२० शृंखला नेपालले जितेको छ। पहिलो खेलमा आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा ७१ रनको जित निकाल्दै शृंखला जितेको हो।

नेपालले आयरल्यान्डलाई जितका लागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। आयरल्यान्डले १८.३ ओभरमा १२७ रन मात्र बनाउन सक्यो।

आयरल्यान्ड उल्भ्सका लागि स्टेफेन डोहेनीले बनाएको २६ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो। त्यस्तै, मोर्गन टपिङले २१, कारमाइकलले १८, रोस एडियर र निल रकले १७/१७ रन बनाए भने गारेथ डेलानले १५ रनको योगदान दिए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र कुशल मल्लले ३/३ विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेक यादवका नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए। कुशल मल्लले ३४, कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए।

बलिङतर्फ आयरल्यान्डका म्याथ्यु फस्टरले ३, बेन ह्वाइटले २ तथा फिन ह्यान्ड र गेभिन होईले १/१ विकेट लिए।