झापाका ५३३ हात्तीपिडीत परिवारले पाएनन् राहत

वन कार्यालयले पहिलो चरणमा ३२१ र दोस्रो चरणमा २१२ परिवारका लागि राहत रकम माग गरेको छ। तर हालसम्म राहत रकम प्राप्त भएको छैन।

बनियानी– झापामा जंगली हात्तीको आक्रमणमा क्षति बेहोरेका हात्तीपीडितले सहयोग नपाएको गुनासो गरेका छन्। यद्यपि डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ।

चालु आर्थिक वर्षको साउनयता क्षति बेहोरेका ५३३ परिवारले राहत नपाएका हुन्। उनीहरूका लागि  एक रोड २६ लाख ४९ हजार रुपैयाँ राहत उपलब्ध गराउन वन निर्देशनालयसँग माग गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताइन्। 

कार्यालयले पहिलो चरणमा ३२१ र दोस्रो चरणमा २१२ परिवारका लागि राहत रकम माग गरेको छ। हालसम्म राहत रकम प्राप्त भएको छैन। “राहत रकमका विषयमा फोन आइरहन्छ,” उनले भनिन्, “पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ।”

गत कात्तिक २ गतेसम्म ३२१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार रुपैयाँ राहत रकम माग गरिएको थियो। यस्तै, माघ २९ गते थप २१२ जनाका लागि ६८ लाख २० हजार रुपैयाँ माग गरिएको थियो।

राहत माग गरिएकामा पाँचजना मृतकको ५० लाख, सातजना घाइतेका लागि आठ लाख ५१ हजार, चौपाया एक बराबर १० हजार, विभिन्न घर गोठमा पुर्‍याएको क्षतिको पूर्तिका लागि २५ लाख ४९ हजार ७०० रहेको छ।

भण्डारण गरिएको अन्न क्षति बराबर ६ लाख ८९ हजार ६०० र बालीनालीमा हात्तीले गरेको क्षति बराबर ३५ लाख ४८ हजार रहेको डिभिजन वन कार्यालयले जनाएको छ।