पाकिस्तानमा आत्मघाती बम आक्रमण: ५ चिनियाँसहित ६ जनाको मृत्यु

चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् आयोजनाको गाडीमा विद्रोहीहरूले विस्फोट गराएका थिए। विस्फोटपछि चिनियाँ नागरिक बोकेको गाडी खाल्डोमा खसेको थियो। 

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको छ। 

चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् आयोजनाको गाडीमा विद्रोहीहरूले आक्रमण गरेका थिए। 

आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको आफ्नो गाडी विस्फोट गराएको समाचार संस्था रोयटर्सले जनाएको छ। विस्फोटपछि चिनियाँ नागरिक बोकेको गाडी खाल्डोमा खसेको थियो। 

अहिलेसम्म कुनै पनि सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। आक्रमणस्थल राजधानी इस्लामावादबाट करिब २७० किलोमिटर पर्छ। 

पाकिस्तानस्थित चिनियाँ दूतावासका अनुसार आक्रमण मंगलबार दिउँसो भएको हो।