उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने गरेको छैन।

काठमाडौँ– नेकपा माओवादी केन्द्रले इलाम–२ र बझाङ प्रदेशसभा १ मा उम्मेदवारी दिने निर्णय गरेको छ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। 

“आजको पार्टी पदाधिकारी बैठकले इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। व्यक्तिको बारेमा निर्णय गर्नको लागि सिफारिस आएको छ। अर्को बैठकमा टुंगो लाग्छ,” उनले भने। दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुँदैछ। 

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको भदौ २५ तथा बझाङ प्रदेशसभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको असार ५ मा निधन भएको थियो।