निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप पनौती बजारमा नै तीन वृद्धा आमाहरूसँग मात्रै छ। उक्त सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न तालिम आयोजना गरिएको हो।
धुलिखेल– काभ्रेपलान्चोकको पनौती नगरपालिका–७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेका छन्।
महिलाहरूले सीप सिक्ने इच्छा व्यक्त गरेपछि आफूले जानेको कुरालाई सिकाएको उनी बताउँछिन्। “सिक्न मन गरेपछि मिम्चा, ढकिचा, पिचा, खैँचा, कलालीलगायत सामग्री बुन्ने सीप सिकाइरहेको छु,” उनले भने, “सिक्ने भनेर इच्छा व्यक्त गर्नेलाई जानेको सीप दिएको हुँ।”
नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका ज्येष्ठ नागरिकले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्न थालेका हुन्। शुरूमा अप्ठ्यारो मानेर सिकेकाहरूको बिस्तारै अलिअलि हात बस्दै गएको छ। उनीसँगै ८६ वर्षीया आशामाया देउला र ८५ वर्षीया दिलमाया देउलाले पनि सिकाइरहेका छन्।
पनौती–७ का ललिता नापितले आमाहरूपछि परम्परागत सीप नै हराएर जाने अवस्था भएकाले चोया काट्ने र बुन्ने सीप सिक्न थालेको बताइन्। “पहिला त निकै गाह्रो महसुस भएको थियो। सिक्दै जाँदा सहज हुने रहेछ,” बुनेको मिमिचा देखाउँदै उनले भनिन्, “यो हाम्रो नेवार समुदायका बालबालिकाको बेलविवाह गर्ने, व्रतबन्ध गर्ने र पूजा गर्ने बेलामा सामग्री राख्नका लागि नभई हुँदैन। अब आफैँ बुन्नसक्ने भएकी छु।”
सँगै सीप सिकिरहेकी रिता प्रधानले बुन्न आए पनि थालनी गर्ने र चोया काट्न अझै अभ्यास कम भएको सुनाइन्। नयाँ पुस्तालाई खासै चासो नभएको अवस्थामा यहाँका महिला भने चोयाबाट बन्ने विभिन्न सामग्री बुन्ने सीप सिकिरहेका छन्।
परम्परागत सीप हस्तान्तरणका लागि पनौती पर्यटन विकास केन्द्रले तालिमको आयोजना गरेपछि यहाँका महिलाले सो अवसर पाएका हुन्। एकातिर जन्मदेखि मरणसम्म आवश्यक गर्ने सामग्री बनाउने सिप सिक्न पाउनु र अर्कोतिर सजावट तथा कलात्मक सामग्री बनाउने तालिम लिन पाउनु खुसीको कुरा भएको सहभागीको भनाइ छ।
“सामग्री देख्दा कसरी बुन्ने र उत्पादन गर्ने होला भन्ने खुल्दुली लागिरहेको थियो। अहिले आएर घरमा नै बसेर सिक्ने अवसर मिल्यो,” पनौती–७ की मेरिना सैँजुले भनिन्, “यसले अब परम्परागत सामग्री बनाउनेसँगै व्यावसायिक बन्ने बाटो खुल्ने आत्मविश्वास बढेको छ।” हरेक पसल, होटल, घर र बजारमा सजाएर राखेको सामग्री देखेर यसले व्यावसायिक रूपमा अगाडि बढ्न मद्दत पुग्ने विश्वास बढेको उनले बताइन्।
सोही ठाउँकी इन्दिरा नापितले निगालोको चोयाबाट बन्ने सामग्री बनाउने पहिलो अनुभव लिन आएको बताइन्। काम सिक्न पाउनु राम्रो कुरा भएकाले सिक्न थालेको उनको भनाइ छ। पनौती बजारभरिमा नै तीन वृद्धा आमामा मात्रै बुन्ने सीप भएकामा नयाँ पुस्तालाई हस्तान्तरण गर्न र संरक्षणका लागि सीप सिकेको उनको भनाइ छ। तालिममा पनौतीका ३१ महिलाले सो सीप सिकिरहेका छन्। चैत ४ गतेदेखि शुरू भएको तालिम आगामी शनिबार समापन हुने पनौती पर्यटन विकास केन्द्रले जनाएको छ।
“नेवार समुदायको बेलविवाह, व्रतबन्ध, विभिन्न जात्रा, पूजाआजा र अन्य विभिन्न कार्यमा आवश्यक पर्ने सामग्री बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम आयोजना गरिएको हो,” केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले भने, “यस्तो सामग्री बनाउने सीप पनौती बजारमा नै तीनजना वृद्धासँग मात्रै छ। नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक ठानेर तालिम आयोजना गरेका हौँ।”
सीप सिकाइसँगै त्यसले परम्परा धान्ने, सीप हस्तान्तरण हुने र आम्दानीसमेत गर्न सकिने भएकाले पनि तालिमको आयोजना गरेको उनको भनाइ छ। तालिमबाट सिकेको सीपमार्फत उत्पादन हुने सामग्री पर्यटन विकास केन्द्रले खरिद गर्ने र त्यहीबाट बिक्री गर्ने योजनामा विकास केन्द्र छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
