विमानस्थलबाट बिदेसिएको देख्नेले सिमानाबाट बाहिरिनेको लस्कर किन नदेखेकोः श्रममन्त्री

उनले काठमाडौँमा बसेर नेतृत्व गर्ने र सिंहदरबारमा बसेर फाइलहरू बनाउँदै गर्दा भूगोललाई भने बुझ्न नसकेको धारणा राखे।

काठमाडाैँ– श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिनेको लस्कर देख्नेले खुला सीमाबाट बाहिरिने नेपालीको लस्कर देख्न नसकेको गुनासो गरेका छन्।

बुधबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा बोल्दै उनले विमानस्थलमा बिदेसिनेको लस्कर देख्नेले खुल्ला सिमानाबाट बाहिरीने नेपाली लस्कर देख्न नसकेको भन्दै खुल्ला सिमानाबाट बाहिर जाने नेपालीहरूको समाचार बनाएर सरोकारवालाको ध्यानाकर्षण गराउन सञ्चारकर्मीहरूलाई आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका उनले भने,"सामाजिक सञ्जालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिने लस्करको तस्वीरहरू हामी थुप्रै देख्न सक्छौँ। तर हाम्रो खुल्ला सिमाना भएको कारण त्यहाँबाट थुप्रै नेपाली बाहिर गइरहेको तस्वीरहरू हामी देख्न सक्दैनौँ। त्यसैले मेरो अनुरोध छ सञ्चारकर्मीहरूलाई खुल्ला बोर्डरबाट बाहिर जाने नेपालीहरूको लावालस्कर पनि हामीले समाचार बनाउन सक्यौँ भने नीति निर्माताहरू झस्किन सक्छन्।"

उनले काठमाडौँमा बसेर नेतृत्व गर्ने र सिंहदरबारमा बसेर फाइलहरू बनाउँदै गर्दा भूगोललाई भने बुझ्न नसकेको धारणा राखे। कर्णालीको शिक्षा, बेरोजगार र दुःखमा मात्र बहस नगरी त्यहाँको सम्भावनाहरू रोजगारी सृजना हुनसक्ने त्यहाँका अथाह जडीबुटीहरूलाई चिन्न सक्नुपर्ने उनको भनाइ थियो।