त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

कतार एअरबाट दोहा हुँदै लन्डन लैजान लागिएको 'एआरए एमईएक्स' कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको हो।

फाइल तस्वीर

काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ। विदेश लैजाँदै गरेको सो चरेस मंगलबार बरामद गरेर आज (बुधबार) सार्वजनिक गरिएको हो।

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो जाँच गर्ने क्रममा कतार एअरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमईएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ मंगलबार फेला पारी बरामद गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार बरामद गरिएको उक्त पदार्थको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर पठाइएको छ।