साउदीका सेन्ट्रल ब्याक शाहरानी 'मेडिकल स्टाफ'को निगरानीमा

मंगलबार सम्पन्न अर्जेन्टिनाविरुद्धको खेलमा गम्भीर चोट लागेका साउदीका सेन्ट्रल ब्याक शाहरानी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन्। उनको अनुहार र पेटमा चोट लागेको छ।

साउदी अरबका सेन्ट्रल ब्याक यासर अल-शाहरानीको शल्यक्रिया सफल भएको छ। मंगलबार सम्पन्न अर्जेन्टिनाविरुद्धको खेलमा उनलाई गम्भीर चोट लागेको थियो। 

उक्त खेलमा साउदी अरबका गोलकिपर मोहम्मेद अल वासीले बल समाउने क्रममा घुँडाले लाग्दा उनी घाइते भएका थिए। 

घटनापछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। साउदी अरब फुटबल संघका अनुसार उनको अनुहार र पेटमा चोट लागेको थियो।

संघले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् शाहरानीको शल्यक्रिया सफल भएको पुष्टि गरेको छ। तर, शाहरानीले विश्वकपका बाँकी रहेका खेल खेल्छन् या खेल्दैनन् भन्ने बारेमा केही खुलाइएको छैन।

‘‘रक्षक यासेर अल शाहरानीको रियादको किंग अब्दुलाजिज मेडिकल सिटीस्थित नेशनल गार्ड अस्पतालमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको छ। उनी राष्ट्रिय टोलीका मेडिकल स्टाफको पूर्ण निगरानीमा रहनेछन्”, विज्ञप्तिमा भनिएको छ।

शाहरानीले साउदी अरबबाट ७३ खेलमा २ गोल गरेका छन्। उनले सन् २०११ मा फिफा  यू-२० विश्वकपमा खेलेका थिए र ग्वाटेमालाविरुद्ध गोल गरेका थिए।

उनी सन् २०१२ देखि साउदी अरबकै क्लब अल हिलालबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्।

कतारमा जारी फिफा विश्वकपको समूह ‘सी’ अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा साउदी अरबले उपाधिको दाबेदार मानिएको अर्जेन्टिनामाथि २–१ को पुनरागमन जित निकालेको थियो।

साउदी अरब सन् १९९० को विश्वकपपछि अर्जेन्टिनालाई हराउने युरोपबाहिरको पहिलो टोली हो। सो विश्वकपमा क्यामरुनले अर्जेन्टिनालाई २-१ ले हराएको थियो।

साउदी अरबले आफ्नो दोस्रो खेलमा शनिबार पोल्यान्डसँग खेल्ने छ। पोल्यान्डले पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।

-एजेन्सीको सहयोगमा