जति बखान गरे पनि कुरो उही हो। मलाई राजा बनाउन रैतीले आफ्नो योग्यता अझै प्राचीनकालीन बनाउनुपर्यो। ढाड अझै झुकाएर हिँड्न थाल्नुपर्यो।
रैती हो, मनको कुरा भन्छु, कान खोलेर सुन। मेरो नाम इच्छुक गोपाल मल्ल शाह हो। मलाई यस देशमा राजतन्त्र स्थापित गरी यस भूखण्डको भूपति भईकन राजकाज सम्हाल्ने प्रचण्ड रहर छ। उसो त राजा हुने मेरो रहर बाल्यकाल देखिकै हो। म सानोमा देश–विदेशका राजकुमार र राजाका कथा पढ्थे। सुन्दर राजकुमारले सुन्दरी राजकुमारी पाई राजा भएको कथा पढ्दा साह्रै घत पर्थ्यो र मुख मिठ्याउँथेँ। राजाका बारेमा गरिएका महिमामण्डन पढ्दा राजाहरू दिव्य मुहारका हुन्छन् झैँ लाग्थ्यो, अझै लाग्छ। यदि राजा हुने पूर्वशर्त सुन्दर मुहार नै हो भने प्लास्टिक सर्जरीकै लागि पनि म तयारै छु।
राजा हुनु सत्कार र पदवीहरू स्वतः पाउनु पनि हो। श्री ५ इच्छुक वीरविक्रम गोपाल मल्ल शाहदेव! सुन्दै पनि कति राम्रो! फेरि अलि पुरानो राष्ट्रिय गान अस्तित्वमा आउँदो हो त रैतीहरू तनक्क तन्कँदै चिच्याउलान्- प्रचण्ड प्रतापी भूपति। प्रचण्ड र प्रतापी हुनै किन पर्यो? लेखिदिए र गाइहाले भइहाल्यो। सैनिक बर्दी लगाएर सेनाको परमाधिपतिको आसनमा बसिसकेपछि प्रताप गर्नुपर्ने नै के बाँकी रहन्छ र?
म राजा भएपछि मेरी श्रीमती स्वतः रानी। छोराछोरी राजकुमार र राजकुमारी। हाम्रो 'सवारी'मा रैती सडकमा लाइन लाग्दै ताली ठोक्लान्। हामीले दशैँमा टीका लगाएको दृश्य 'मंगल धुन'सहित टेलिभिजनमा प्रसार होला। मेरो छोरा दरबारको चौघेरा नाघेर यस मुलुकभित्र जेसुकै गर्न पाउला। उसले रात्रि क्लबमा हतियार चलायो या कुनै संगीतकारलाई गाडीले नै किच्यो भने पनि प्रहरी प्रशासनले कारबाही चलाउन नमिल्ला।
राजा भएपछि म बेलाबेला देशका गाउँठाउँ भ्रमण गर्न जानेछु। जनताका समस्या सुन्दै मुन्टो पनि हल्लाउनुपर्नेछ मैले। बीचबीचमा ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा गुन्जँदा ‘लौलौ’ भन्दै तिनलाई थुमथुम्याउने जिम्मेवारी मेरै हुनेछ। मेरा नाममा केही विश्वविद्यालय, राजमार्ग र अस्पतालका नामकरण होलान्। कतिपयले मेरै नाममा कविता र साहित्य पनि रचिदेलान्। हिमाल, पहाड र फाँटका बखान गरिदेलान्। मेरा महावाणीहरू लेखिएका सडक र सार्वजनिक स्थानमा टाँसिएलान्।
राजकुमार सिद्धार्थ गौतम सांसारिक मोह त्यागेर बुद्ध बनेका थिए। मचाहिँ आम बुद्धुबाट बिलासी राजा बन्न चाहन्छु। मानिस बिरामी हुन्छ, रोगी हुन्छ र आखिरमा मर्छ भन्ने कुरा म चटक्कै बिर्सन चाहन्छु। विन्दास विलासमा आफू र आफ्ना सन्ततिको जीवन व्यतीत गराउन चाहन्छु। अनेकन् रानीहरूको प्रेम, माया, सेवा र सुस्रुवा एउटा सम्राट्को सपना हो। महिला अधिकारसम्बन्धी अहिलेका सबै कानून र विधिहरू तत्कालै खारेज गर्दै क, ख, ग वर्गका सन्तति सिर्जनामा म लाग्नेछु। त्यसो भएपछि मन परेकालाई बक्सिस-बिर्ता र द्रोही भाइ भारदार र सन्तानलाई सर्वस्वहरण र उस्तै पर्दा जीवनहरण! अहा! यो सबै कल्पना गर्दा पनि साह्रै आनन्द आउँछ।
कुन दार्शनिकले हो कुन्नि, दुई हजार वर्षभन्दा पहिले ‘राजा दार्शनिक हुनु पर्छ’ भन्थेरे। दर्शन नजानी राजा हुन नमिल्ने हो भने पूर्वीय र पश्चिमेली दर्शन जसोतसो अध्ययन गरौँला। कनीकुथी मार्कस औरिलिअसको मेडिटेसन्स अवश्य पढौँला। जहाँ इच्छा त्यहाँ उपाय, मेरो राजा हुने उद्देश्य यति दृढ छ कि यी दर्शन र पुस्तकले मेरो दिमागमा नछिरी सुखै पाउने छैनन्।
राजतन्त्र फर्काउन के गर्ने त? आजकाल आधुनिकता र प्रगतिशीलताको खुब चर्चा हुन्छ। यस्ता विचारधारा राजतन्त्रको उद्भवका लागि घातक छन्। भक्ति र अन्धता राजतन्त्रको पुनरागमनका लागि अत्यावश्यक शर्त हो, अशिक्षा राजतन्त्रको सहज राजमार्ग हो। कुनै कारणको खोजी नगरी राजालाई ईश्वरको स्वरूप मान्दै पूजा गर्नु भक्ति हो। अतः भक्ति र ईश्वरीय मार्गले राजतन्त्र बौराउन पक्कै सहयोग गर्ला।
राजतन्त्रको वापसी गर्न म भारदारहरूको प्रयोग गर्नेछु। सजिलै किनबेच हुने स्वार्थी व्यापारी, पत्रकार र विचारधारा नभएका राजनीतिज्ञहरू भारदारका रूपमा विकास गर्न सम्भव छ। यिनलाई पैसाको र पदको प्रलोभन देखाई यिनीहरूमार्फत देशभित्रै आन्दोलन सिर्जना गर्न सकिएला, नभए देशबाहिरका शक्ति गुहार्न पनि यिनको काम लाग्नेछ। केही सय/हजार मान्छेलाई लोभ्याएर सिंहदरबार हान्न सक्ने कुरामा यो सम्भावित सम्राट्लाई विश्वास छ।
यसरी परिचालनमार्फत जनता जाग्छन् भन्ने यो हुनेवाला राजाको अभिलाषा छ। राजमुकुटप्रतिको श्रद्धाभावले ओतप्रोत हुँदै जनता पक्कै सडक र सदन कब्जा गर्न आउनेछन्। २० वर्षअघि सडकमा कपाल मुण्डन गर्ने उतिखेरका युवा र अहिलेका अधबैँसेहरू पक्कै नयाँ राजाको स्वागत गर्नेछ!
राजसंस्था त ल्याउने नै हो तर कुन ल्याउने? पञ्चायती व्यवस्था उत्तम हो। राणाशासन अझै उत्तम हुनसक्छ। ३०० वर्ष पुरानो मल्ल राज्य पनि स्थापना गर्न सकिन्छ। अझ लिच्छवि, किराँती या गोपालवंशी राजतन्त्र स्थापना गरे झनै राम्रो। व्यवस्था जति रूढिवादी र पुरानो हुन सक्यो, यति नै राजतन्त्र दीर्घायु हुनेछ।
व्यवस्था परिवर्तन भएपछि म राजकाजमा आमूल सुधार ल्याउनेछु। मेरो पहिलो काम जनतालाई वर्णमा विभाजन गर्नु हो। जयस्थिति मल्लले गरेझैँ वर्ण विभाजनबाट स्वतः न्यायव्यवस्था स्थापित हुनेछ। मनुस्मृतिका आधारमा शासन व्यवस्था बरकरार गरिनेछ। त्यसो भएपछि स्वतः रामराज्य! आधुनिक प्रहरी र पश्चिमा शैलीको न्यायालय स्वतः खारेजीमा पर्नेछ। अहिलेका दुर्गुण पश्चिमा शिक्षाका व्यवस्था खारेज गरेर गुरुकुलमा जानेदेखि आधुनिक चिकित्सा खारेज गर्दै परम्परागत विश्वासमूलक औषधि प्रणालीमा देशलाई लगिनेछ।
म राजा भएपछि सम्भ्रान्त र राजकीय वर्गले राजकीय भाषाको प्रयोग गर्नुपर्नेछ। मौसुफ, ज्युनार, बक्सियोस् जस्ता शब्दावलीको प्रयोगलाई अनिवार्य गरिने छ। मेरो राज्याभिषेकपछि सबै पश्चिमा सवारीसाधन र प्रविधिसमेत खारेज गरिनेछ। विशिष्ट वर्गले अब सवारीका लागि हात्ती र घोडा पाल्न थाल्नेछन् र बग्गीमा यात्रा गर्नेछन्। उकालो, ओरालो र बाटो नपुगेको ठाउँमा तिनलाई मासिन्या जातले डोलीमा राखेर बोक्नेछन्। सर्वसाधारणलाई राजदरबारमा सुसारे आदिको 'भ्याकेन्सी' पनि खोलिनेछ।
धर्म र राजतन्त्रको आदिकालदेखि नै अन्योन्याश्रित सम्बन्ध रहिआएकाले धर्मको प्रचार राज्यको मूल धर्म बन्नेछ। त्यसका लागि यो महाराज दृढसंकल्पित छ। बढीभन्दा बढी देवालय बनाइनेछन्। कर्मकाण्ड पढाइने विद्यालय गाउँगाउँमा खोलिनेछ र यसको व्यवसायीकरणमा जोड दिइनेछ। प्रार्थना, भजन, कीर्तन, र यज्ञ आदिलाई राज्यले सबैभन्दा बढी बजेट छुट्याउनेछ।
मेरो राज्यको संस्कृतिका दुई मुख्य धरोहर हुनेछन्: ज्योतिष र आयुर्वेद। मल विसर्जन गर्नुअघि पनि जनजनले ग्रहदशा र साइत निकालून् भन्ने यो हुनेवाला राजाको मनसुवा छ। गणेशमा भएको अंग प्रत्यारोपणले आदिकालमै हाम्रो उपचार विधिले आफ्नो उचाइ हासिल गरेको बुझिन्छ। आदिकालमै हाम्रा महर्षिले सञ्जीवनी बुटीमार्फत मरेकालाई जीवित तुल्याउन सक्थे। हाम्रो प्राचीन उपचार विधिले उपचार गर्न नसक्ने रोग अहिलेसम्म कसैलाई लागेकै छैन। चूर्ण, भस्म, च्यावनप्रास र शिलाजितलगायत द्रव्य र बुटीहरू सर्वरोग निवारक हुन्। फिरंगीको प्रभावमा परेका आधुनिक चिकित्सावालाहरू हाम्रो पूर्वीय पद्धतिमा क्लिनिकल परीक्षण नभएको जिकिर गर्छन्, तर तिनले हाम्रै विद्या चोरेको बारेमा कसले भनिदियोस्?
जति बखान गरे पनि कुरो उही हो। मलाई राजा बनाउन रैतीहरूले आफ्नो योग्यता अझै प्राचीनकालीन बनाउनुपर्यो। ढाड अझै झुकाएर हिँड्न थाल्नुपर्यो। 'जय अधिराज, जय महाराजा' टाइपका चालिसाहरूको अभ्यास अहिल्यैबाट थाल्नुपर्यो।
स्वस्थानीका नवराजले हरिहरको पूजा गर्दा हात्तीबाट राज्याभिषेक पाएका थिए। मयले महादेवको तप गरी अलकापुरी पाएका थिए। विभिन्न देवता तथा राक्षसले कहिले प्रचण्ड अग्निमा त कहिले हिमालय पर्वतमा तपस्या गरी राज्य हत्याएका थिए। ठ्याक्कै के गरी यो कलियुगमा राजपद प्राप्त गर्न सम्भव छ, मैले अझै मेलो पाएको छैन। दक्षिणतिरको 'अँधेरी नगरी चौपट राजा'को प्रदक्षिणा गर्दा केही प्राप्त होलाझैँ पनि लाग्छ, तर यसमा रैतीको साथचाहिँ सबैभन्दा अहम् छ! त्योचाहिँ मलाई थाहा छ। लौन ए, रैती हो, मलाई राजा बनाइदेओ।
लेखक काठमाडौँ विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उपप्राध्यापक हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
