आईपीएल: बैंग्लोरको दोस्रो हार, कोलकाता दोस्रो स्थानमा

शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग घरेलु टोली बैंग्लोर ७ विकेटले पराजित भएको छ।

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरले दोस्रो हार बेहोरेको छ।

शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग घरेलु टोली बैंग्लोर ७ विकेटले पराजित भएको हो। 

चिन्नस्वामी स्टेडियममा पाएको १८३ रनको विजयी लक्ष्य कोलकाताले १६.५ ओभरमा ३ विकेट गुमाएर भेटायो। कोलकाताको जितमा भेन्कटेश ऐयरले ३० बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेले।

सुनिल नरिनले २२ बलमा ४७ रन बनाए। कप्तान श्रेयस ऐयर २४ बलमा ३९ रन बनाएर अविजित रहे। फिल साल्टले ३० रन बनाए।

बैंग्लोरका यश दयाल, मयंक डागर र विजयकुमार भिशाकले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो।

विराट कोहली ५९ बलमा ८३ रनमा अविजित रहे। क्यामरन ग्रीनले ३३ , ग्लेन म्याक्सवेलले २८ तथा दिनेश कार्तिकले २० रन जोडे।

कोलकाताका हर्षित राना र आन्द्रे रसेलले २–२ तथा सुनिल नरिनले १ विकेट लिए।

दुई खेलमा दुई खेल जितेको कोलकाता तालिकाको दोस्रो तथा तीनमा दुई हार बेहोरेको बेंग्लोर छैटौँ स्थानमा छ।