पालिकाले बाँडेको उन्नत जातको मकै: घोगा लाग्यो, दाना लागेन

उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानले बताएका छन्। जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ। 

बरहथवा– उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन्। जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो। 

मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गरे। प्रतिकिलो ६५० रुपैयाँमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताए। “धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो,” उनले भने, “अहिले सबै लगानी डुब्यो।” बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ। 

यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन्। प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि समस्या भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे। उनले गत मंसिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएका थिए। “घोगा ठूलो लागे पनि दाना लागेको छैन,” उनले भने। 

महँगो बीउसँगै विशेष किसिमले  मलखाद हालेर  लगानी गरेको मकै नफलेपछि किसान छागाँबाट खसेजस्तै भएका छन्। किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा–५ कि  ललिता साहको आरोप छ । मकैमा दाना नलागे पछि आफूहरु संकटमा परेको उनले‍ गुनासो गरे। 

उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानले बताएका छन्। जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ। 

उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन्। मंसिरका पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा  समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए। 

नगरपालिकास्थित कृषि शाखाले क्षतिको विवरण संकलन गरिरेहेको छ। किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि विवरण संकलन थालेको र एक दुई दिनभित्र पूर्ण विवरण सार्वजनिक गरिने कृषि अधिकृत अवधेशकुमार झाले जानकारी  दिए। अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि ६०० किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो।  

जिल्लाको कर्मैया, ढुंग्रेखोला, शंकरपुर, राजघाट, हजरिया, मुर्तियालगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ। जिल्लामा १२ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ।