एक खेलअगावै आयरल्यान्ड उल्भ्सले जित्यो नेपाल ‘ए’सँगको टी२० श्रृंखला

आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल ‘ए’सँगको टी२० श्रृंखला जितेको छ।

काठमाडौँ– आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल ‘ए’सँगको तीन टी२० श्रृंखला जितेको छ। शनिबार भएको खेलमा नेपाललाई आयरल्यान्ड उल्भ्सले ४० रनले विजयी हुँदै एक खेलअगावै श्रृंखला जितेको हो। शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो।

पिटर मुर र निल रकको अर्धशतकप्रेरित आयरल्यान्ड उल्भ्सले जितका लागि नेपाल ‘ए’लाई २२४ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७.५ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो। शुक्रबार भएको पहिलो खेल नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग २१ रनले पराजित भएको थियो।

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए। उनले २५ बलको सामना गर्दै ७ छक्काको मद्दतमा ४७ रन बनाएका हुन्। त्यस्तै, बसिर अहमदले २७, कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५, कमल ऐरीले ११ र पवन शराफले १० रन बनाए।

बलिङतर्फ आयरल्यान्ड उल्भ्सका बेन ह्वाटले ३ विकेट लिए। फिओन ह्यान्ड र थोमस मेयास २/२ विकेट लिँदा म्याथ्यु फोस्टर र ग्यारेथ डेलानीका नाममा समान १/१ विकेट रह्यो।

यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले ६ विकेट गुमाएर २२४ रन बनाएको थियो। उसका लागि कप्तान निल रक र पिटर मुरले अर्ध शतकीय इनिङ्स खेले। रकले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै ७१ रन बनाए। मुरले २६ बलमा ३ चौका र ७ छक्काको मद्दतबाट ६५ रन जोडे।

जेम्स मिककोलुमले २६, रोस अदेरले १७, फियोन ह्यान्डले १९ रन बनाए।

बलिङतर्फ नेपाल ‘ए’का लागि सागर ढकालले ३ विकेट लिए। त्यस्तै, कमलसिंह ऐरी र पवन सर्राफका नाममा १/१ विकेट रह्यो।

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको टी२० श्रृंखलाअन्तर्गतको अन्तिम खेल आइतबार हुने छ।