बिलासी घडीबारेको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपतिको घरमा छापा

बिलासी घडीबारेको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन्।

रोलेक्स घडी जफत गर्ने उद्देश्यले छापा मार्ने क्रममा राष्ट्रपति डिना बोलुआर्टेको घर बाहिर उभिएका प्रहरी र अभियोजक। तस्वीर : मार्टिन मेजिया/एपी

भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन्।

एएफपीले प्राप्त गरेको प्रहरी दस्ताबेजअनुसार बोलुआर्टेले घोषणा नगरेका ‘रोलेक्स घडी’को खोजी गर्न करिब ४० जना अधिकारी परिचालित गरिएको छ। 

प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्य’ले छापा मारेको पुष्टि गरेको छ।

बोलुआर्टेले विदेशी उत्पादनका बिलासी घडी लगाएको बारेमा रिपोर्ट प्रकाशित गरेपछि अधिकारीहरूले यस महिनाको शुरूमा अनुसन्धान थालेका थिए। तर यसलाई सार्वजनिक रूपमा घोषणा गरिएको थिएन।

प्रहरी र अभियोजकको कार्यालयबीचको संयुक्त अभियानअन्तर्गत राष्ट्रपतिको निवासमा गरिएको उक्त छापा शनिबार स्थानीय टेलिभिजन च्यानल ल्याटिनामा प्रसारण गरिएको थियो।

डिसेम्बर २०२२ मा पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोले कंग्रेसलाई भंग गर्न र आदेशको भरमा शासन गर्ने प्रयास गरेपछि बोलुआर्टेले राष्ट्रपतिको जिम्मेवारी पाएका थिए।