गृहमन्त्रीमाथि संसदीय छानबिन पूर्वाग्रहबाट प्रेरित : एमाले प्रमुख सचेतक

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा आवश्यकता नभई सरकारबाट बाहिरिनुपरेको बदलाका रूपमा उठाएको सत्तारुढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।

काठमाडौँ– सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग पूर्वाग्रहबाट प्रेरित रहेको प्रतिक्रिया दिएका छन्। 

सदनको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले आफ्नो कार्यकक्षमा शनिबार राखेको प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मन्त्रीमाथि संसदीय छानबिन समिति आवश्यकताका आधारमा मात्र बनाउनुपर्ने बताए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा आवश्यकता नभई सरकारबाट बाहिरिनुपरेको बदलाका रूपमा उठाएको उनको आरोप थियो।

“तत्काल सरकारबाट बाहिरिन परेको बदलाका रूपमा उहाँहरूले विषयवस्तु राख्नुभएको हो। यस विषयमा प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएको छ। एकपटक उठेको विषयमा गृहमन्त्रीले जवाफ दिन चाहनुभएको छ। यसमा प्रतिपक्षले सहजीकरण गर्नुपर्छ।  सिंगो देश र जनतालाई के भन्न खोज्नुभएको हो, उहाँहरूले धैर्यता राख्नुपर्छ,” उनले अगाडि भने, “संसदीय समिति आवश्यकता नभई पूर्वाग्रहको आधारमा प्रेरित हो कि भन्ने देखिएको छ।”

आइतबारदेखि लगातार चार दिनसम्म संसद् बैठक सञ्चालन हुने उनले बताए। यद्यपि, प्रतिनिधिसभा बैठक बस्नुअघि थप छलफलका लागि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको पनि जानकारी दिए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परिवारले सदन अवरोधको निकास र सदनको आगामी कार्यतालिकाबारे छलफल भएको उल्लेख गर्दै गृहमन्त्रीका बारेमा उठाइएका प्रश्नमा समिति बनाउन आवश्यक नरहेको बताए।

गृहमन्त्रीबारे उठाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट जवाफ भइसकेको तथा सबैतिरबाट प्रतिवेदन आएका बताउँदै प्रमुख सचेतक परियारले आफू माथि उठेका प्रश्नको जवाफ गृहमन्त्रीले दिन पाउनुपर्ने भनाइ राखे।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समितिको माग कायम राखेको छ। यद्यपि, यसबारेमा कांग्रेसले पार्टी पदाधिकारी बैठकबाट आवश्यक निर्णय लिने तयारी गरेको छ।

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा आइतबार पदाधिकारी बैठक बसेर निर्णय लिने कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन्।

“हामी भोलि पदाधिकारी बैठक बस्छौँ। कांग्रेसले कुन ‘पोजिसन’ लिने, छानबिन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा हामी भोलि छलफल गछौँ,” उनले भनिन्।

शनिबारको बैठकमा सभामुख घिमिरेले संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग सदनको अवरोध र आगामी कार्यतालिकाबारे परामर्श गरेका थिए।‍ सभामुख घिमिरेले उनीहरूसँग सदनलाई सहज रूपबाट अघि बढाउन तथा सरल ढंगबाट कार्यसम्पादनका लागि सहजीकरण र भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले कार्यतालिअनुरूप संघीय संसद्लाई अघि बढाउने सिलसिलामा आगामी कार्यतालिकाबारे गृहकार्य गरी अघि बढ्ने विषयमा छलफल भएको बताए।