ठमेललाई चौबिसै घण्टा खुलाउने निर्णयप्रति स्थानीयको असन्तुष्टि

ठमेलका घरधनीको शनिबारको बैठकले यस क्षेत्रलाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।

काठमाडौँ– काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल क्षेत्रका घरधनीले उक्त निर्णयको विरोध गरेका हुन्। ठमेलका घरधनीको शनिबारको बैठकले यस क्षेत्रलाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।

काठमाडौँ महानगरपालिका–२६ का पूर्ववडाध्यक्ष विशम्भरलाल प्रधानले ठमेललाई २४सै घण्टा खुला गर्ने निर्णय गर्नुपूर्व यस क्षेत्रका समस्याबारेमा अध्ययन गर्नुपर्ने बताए। उनले कति क्षेत्रलाई ठमेल मान्ने भन्नेबारे पहिले यकिन गर्नुपर्ने उल्लेख गरे।

ठमेलका स्थानीय सोजेशमान मालाकारले जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने निर्णय गरी आचारसंहिता बनाउँदा यस क्षेत्रका घरभेटीलाई नसमेटेको भन्दै दुःख व्यक्त गरे। उक्त निर्णयले रातको समयमा यहाँका बासिन्दालाई सुत्न समस्या हुने उनको भनाइ छ। 

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीय बासिन्दालाई असहज हुने गरी २४सै घण्टा ठमेललाई खुला गर्दा समस्या हुने बताए। उनले २४सै घण्टा बजार खुलाउन आवश्यक मापदण्ड के हुन् भन्नेबारे पहिले यकिन हुनुपर्ने उल्लेख गरे।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ। यस्तै, रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन समयमा सञ्चालित बजार क्षेत्रको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थाबारेमा मापदण्डमा समेटेको छ। मापदण्ड बमोजिम कार्य भए/नभएको विषयमा अनुगमन, समन्वय तथा सहजीकरण नियमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोली बनाउने उल्लेख गरेको छ।

बजार क्षेत्र व्यवस्थापन समिति, व्यवसायस्थलको सरसफाइ, यातायातको व्यवस्था, गुनासो प्राप्ति र सम्बोधन, श्रमिकको उजुरी एवं कारबाहीलाई आचारसंहिता तथा मापदण्डमा राखिएको छ।