इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

शनिबार राति इटहरी रंगशालामा सम्पन्न फाइनलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो।

धरान– अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ। 

शनिबार राति इटहरी रंगशालामा सम्पन्न फाइनलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो। चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता आर्मीले पाँच हात पारेको छ।

चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरेका थिए।  उनले खेलको चौथो मिनेटमा गोल गरे । प्लेयर अफ द म्याच घोषित भएका उनले १० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भए। उनले एक लाख रुपैयाँ पाए। उत्कृष्ट डिफेन्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक सोही क्लबका दर्शन भत्तराज घोषित भएका थिए। उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा सर्वाधिक गोलकर्ता डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब मोरङका विमल घर्ती मगर बने।  

आयोजक राष्ट्रिय जागृति क्लबका सुमित चौधरी उदीयमान खेलाडी घोषित भएर फुटबल बुट र मेडल प्राप्त गरे।  लामो समयसम्म खेल क्षेत्रमा योगदान पुर्‍याएका इटहरीका उमेश कार्कीलाई ११ हजार रुपैयाँसहित पुरस्कृत गरियो। 

चैत १० गते शुरू भएको प्रतियोगितामा एक भारतीयसहित स्वदेशी आठ समूहले भाग लिएका थिए।