बाबर आजम पुनः पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त

पाकिस्तान क्रिकेट बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टी२० र एकदिवसीय दुवै टिमका लागि बाबर आजम कप्तान नियुक्त भएका हुन्।

काठमाडौँ– पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ। 

यसै वर्ष आयोजना हुने टी२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ।

भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले गत वर्ष नोभेम्बरमा सबै फर्म्याटको कप्तानी पद त्याग गरेका थिए।

पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबरलाई पुनः नियुक्त गरिएको जनाएको हो। बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टी२० र एकदिवसीय दुवै टिमका लागि बाबर आजमलाई नियुक्त गरिएको हो।

यसअघि अन्तरिम व्यवस्थाका रूपमा टी२० क्रिकेटका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो। साथै शान मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो।

कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि अस्ट्रेलियामा सम्पन्न टेस्ट र टी२० क्रिकेटमा पाकिस्तानी टोली नराम्रोसँग पराजित भएको थियो।

अमेरिका र वेस्टइन्डिजमा हुने टी२० विश्वकप अघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्युजील्यान्ड, आयरल्यान्ड र इंग्ल्यान्डविरुद्ध टी२० क्रिकेट खेल्दैछ।