लप्चीबासीले मागे गोठालो जान ‘सीमा पास’

चौँरी चरनमा समस्या भएपछि लप्ची नाकाका स्थानीयले तीन दिन लगाएर सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय आइपुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ‘सीमा पास’ मिलाइदिन अनुरोध गरेका छन्।

दोलखा– ‘सरकार हामी चौँरी गोठाला हौँ तर गोठालो जान पाएनौँ पास बनाइदिनुपर्‍यो’ बिगु गाउँपालिका– १ लप्ची सीमाका स्थानीय फुर्वाथार्के शेर्पाले आइतबार दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई अनुरोध गरे। 

शुरूमा शेर्पाको अनुरोध सुन्दा सबै छक्क परे पनि यो समस्या नेपाल र चीन सीमामा लप्चीका स्थानीयको वास्तविक समस्या थियो। लप्ची नाकाका स्थानीय बासिन्दाले तीन दिन लगाएर सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय आइपुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ‘सीमा पास’ मिलाइदिन अनुरोध गरेका छन्। गोठमा पालेको चौँरी चरनमा समस्या भएपछि सीमा पास माग्न उनीहरू सदरमुकाम आएका हुन्।

प्रमुख जिल्ला अधिकारी पोखरेललाई भेटेर उनीहरूले चीनतर्फ चौँरी चरनका लागि लैजाँदा चिनियाँ प्रतिनिधिले सरकारी पास खोजेपछि गोठालो जान नपाएको गुनासो सुनाए। चौँरी चरनका लागि गोठालो लैजाने ठाउँमा चिनियाँ पक्षले आर्मी क्याम्प बनाएर बसेको र सीमा पास मागेपछि गोठालो जान, चौँरीको घ्यू, छुर्पी, चौँरीका बाच्छा किनबेच गरी नुन चामल किन्न नपाएको उनीहरूको गुनासो छ। 

कोरोना महामारीपछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुँदा लप्चीका स्थानीय आर्थिक मारमा परेका छन्। गएको दशैँमा केही समय सीमा खुला हुँदा राहत भएको थियो। तर अहिले पास चाहिने भएपछि स्थानीयले सीमा वारपार गर्न सकेका छैनन्।

लप्चीका स्थानीयले हाइड्रोपावरले पैदल हिँड्ने बाटो पनि बिगारेपछि सदरमुकाम आउने बाटोमा डोरी टाँगेर हिँड्नुपर्ने अवस्था भएको प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो पोखे। “हामी हिँड्ने पुरानो बाटो हाइड्रोपावरको संरचना निर्माणका क्रममा भत्किएको छ त्यो पनि निर्माण भएन”, स्थानीय वाङचुक शेर्पाले भने, “हामी पहिले नाकामा नागरिकताको प्रमाणपत्र देखाएर सीमा वारपार गर्थ्यौँ, अहिले सीमाबाट सुन तस्करी हुने आशंकामा कडाइ गरेपछि पास माग्न थाल्यो।” 

बिगु गाउँपालिका–१ लामा बगरमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन लप्ची पुग्दा प्रतिकिलो १६० रुपैयाँ पर्ने स्थानीयको भनाइ छ। चीनतर्फ वारपार गर्न पास भएमा दुई रुपैयाँ घोर्मु (युआन) मा नुन पाउने शेर्पाको भनाइ छ। सीमा पासका लागि कागजात राज्यले नदिँदा स्थानीयले दैनिक उपभोग्य सामग्री हेलिकप्टरबाट ढुवानी गर्नु परेको छ। एक बोरा चामलकै मूल्य रु नौ हजार पर्ने गरेकोले दैनिकी चलाउनै गाह्रो भएका लप्चीका स्थानीय रेछेन शेर्पाले बताए।

दोर्जे गुम्बा तथा ध्यानकेन्द्रका लामा खेप्पुङुटुप शेर्पाले लप्चीमा मोबाइल फोन नचल्ने र टेलिकमलाई पटक–पटक टावर निर्माण गरिदिन आग्रह गरे पनि बेवास्ता गरेको बताए। उनले स्थानीय सरकारले समेत लप्चीको समस्या समाधानमा पहल नगरेको आरोप लगाए।

लप्चीका स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले पासका लागि माथिल्लो निकायमा पहल गरिरहेको र हप्ता दिनभित्रै सीमा पासको परिचयपत्र उपलब्ध गराउने आश्वासन दिएका छन्। उनले सकेसम्म लप्चीमा नागरिकलाई राज्यको प्रतिनिधिको उपस्थितिमा पास उपलब्ध गराउने बताए। 

बिगु गाउँपालिका–१ लप्चीमा ४६ घरधुरी र १५० जनसंख्या छ। लप्चीमा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने लामा गुफा र लप्ची गुम्बासमेत रहेको छ। लप्ची गुम्बामा १२० जना लामाले बौद्ध धर्मको अध्ययन गरिरहेका छन्।