महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष १५ हजार घुससहित पक्राउ

अख्तियारले कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष उजेर अलिलाई घुससहित पक्राउ गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार घुससहित एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ। आयोगले कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्षलाई घुससहित पक्राउ गरेको हो।

आयोगले वडा अध्यक्ष उजेर अलिलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको जनाएको छ। आयोगका अनुसार उनले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेका थिए। 

उनले घुस मागेको उजुरीपछि आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरे बताए।